माओले नगर भनेका तीन कुरा प्रचण्ड गरिरहेको गोपाल किरातीको आरोप, एमालेमा नजाने घोषणा

काठमाडौं, १५ पुस । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता गोपाल किरातीले माओवाद र पहिचानलाई कुल्चेर एमाले-माओवादी केन्द्रबीच एकता हुन लागेको भन्दै अाफूहरु नजाने बताएका छन् । नेता किरातीले नेकपा एमाले माओवाद र पहिचान विरोधी पार्टी भएको बताउँदै एमालेमा माकेको विलय हुने दाबी गरे ।

“माओवाद र पहिचान छोडेर र कुल्चेर गरिने एकतामा हामी जाँदैनौँ । कोही जान्छन् भने जाउन् । दोहोरी लाउने कुरा भएन । हामी माओवादी केन्द्र पुर्नगठन गरेर सञ्चालन गर्न बाध्य हुनेछौँ” किरातीले भने । उनले एमाले-माकेले एकता भन्‍ने लोकप्रिय शब्दको दुरुपयोग गरेको समेत बताए ।

”यो एकता भन्ने लोकप्रिय शब्द उहाँहरुले प्रयोग गरिराख्नु भएको छ । हामी त्यसलाई बिलय भनिरहेका छौं, पार्टी भनेको के हो ? पार्टी केले बन्छ ? यसका आधार हुन्छन् । वर्ग दृष्टिकोण, विचारधारा, रणनीति, कार्यनीति, राजनीतिक कार्यदिशालगायतका थुप्रै विषय वस्तुले पार्टी बनेको हुन्छ” नेता किरातीले भने । उनले नेकपा एमालेले मार्क्सवाद, लेनिनवाद र माओवाद एमालेले नमान्ने भएकोले एकता नभएर माकेको विलय भएको दाबी गरे ।

“माओवादी केन्द्रले अहिलेसम्म उठाएको आएको अर्को मुद्दा हो, पहिचानको । यो पनि एमालेले मान्दैन, त्यो छोडेर नै एकता हुन्छ । केको आधार र केका निम्ति एकता भनेर हामी प्रश्न गरिरहेका छौं । माओवादीको नेतृत्व जो दाम्लो चुँडाएर एमालेतिर हाम्फाल्दैछ, उहाँहरुसँग यसको जवाफ छैन, हामी त्यो जवाफ खोजिराखेका छौं” किरातीको भनाई छ । उनले एमालेले माओवाद र पहिचानको मुद्दा मान्यो भने हामी नाँचेर त्यो एकतामा जाने नत्र नजाने प्रष्ट पारे ।

अाफ्नो पार्टीका अध्यक्ष प्रचण्डले माओले नगर भनेका तीनै कुरा गरिरहेको अारोप लगाउँदै किरातीले अगाडि भने, ”माओत्सतुङले मार्क्सवाद लागू गर, संशोधनवाद होइन, खुला र स्पष्ट हौ, छलछाम र षड्यन्त्र नगर, जुट र नफुट भन्‍नु भएको छ तर अध्यक्ष कमरेडले एमालेसँगको यो एकतामा ठीक उल्टो गरिरहनु भएको छ ।”

उनले प्रचण्‍डले मार्क्सवादमा मौनता, असोज १६ गते षड्न्त्र गरेको र के आधारमा जुट्ने ? भन्नेमा अन्यौलता देखाएको बताए । नेता किरातीले माओवादी अान्दोलनमा जसले माओवाद र पहिचानको मुद्दा छोड्‍छ त्यो पार्टी फुटाउने समूह भएको बताउँदै अहिले प्रचण्ड पार्टी फुटाएर एमालेमा विलय गराउन लागेको बताए । अाफ्नो पार्टी र एमालेको चुनावी गठबन्धनसम्म कुनै अापत्ति नभएको बताउँदै नेता किरातीले तर माओवाद र पहिचान छोडेर एमालेमा विलय हुन लागेकोप्रति अापत्ति भएको बताए ।

एमाले र माओवादी केन्द्रका नेताहरुले भन्दै अाएको समाजवाद भ्रम भएको बताउँदै नेता किरातीले भने, ”समाजवाद भनेको के हो ? काँग्रेसले पनि भन्छ, एमाओवादीको नौं महाधिवेशनले भन्यो, उपेन्द्र यादवले पनि भन्छ, नारायणमान विजुक्छेले पनि भन्नुहुन्छ, तर वाम गठबन्धनले भनेको समाजवाद के हो ? त्यही नै प्रष्ट छैन । त्यसकारण जनतालाई झुक्याउने काम भएको छ । कम्युनिष्टहरुले चाहने वैज्ञानिक समाजवाद हो ।” उनले एमाले र माकेका नेताहरुले वैज्ञानिक समाजवादलाई बद्नाम गर्न खोजेको बताए ।

किरातीले वाम गठबन्धनले समाजवाद ल्याउँछौ भनेको पत्याउन नसकिने कुरा भएको बताउँदे भने, ”वाम गठबन्धनका प्रमुख खड्ग ओलीलाई माओवादी केन्द्रको प्रश्न हुन्छ, के निजी अस्पताल, बैंक र विद्यालयलाई राष्ट्रियकरण गर्न सक्छौं ? श्रमिकवर्गका लागि राष्ट्रिय पूँजी निर्माण गर्न सक्छौं ? आउँदो बजेटमा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंकजस्ता वित्तीय साम्रराज्यवादीहरुको चँगुलबाट नेपाली अर्थतन्त्रलाई मुक्त गर्न सक्छौं ? यी ज्वलन्त प्रश्नको सकरात्मक जवाफ नदिइकन समाजवाद हुँदैन ।”

नेता किरातीले माओवादी अान्दोलनको लागि हजारौंको रगत,लाखौँको पसिना र आँशु बगेको बताउँदै जनयुद्धले स्थापित गरेका मुद्दालाई छोडेर एमालेमा प्रवेश नगर्ने बताए । उनले अाफूहरुले महाधिवेशनको माग गरेको जानकारी दिँदै अध्यक्षले महाधिवेशनको अायोजना नगरे माओवादी केन्द्रलाई पुर्नगठन गर्ने बताए ।

Loading...