प्रचण्डको हेडक्वार्टरमा कुटाकुट हुँदा हितमान शाक्य र झक्कु सुवेदी घाइते

काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फका प्रदेश सभा सदस्य छनोटमा बढेको विवाद हात हालाहालसम्म पुगेको छ । नेताहरुले आफ्ना नातेदारलाई मात्रै मात्रै छनोट गरेको भन्दै कार्यकर्ताहरुले नेतामाथि हात हालेका हुन् । शुक्रबार कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमै नेताहरुबीच हात हालाहाल भएको हो ।

असन्तुष्ट पक्ष माओवादी केन्द्र ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदीमाथि सिन्धुपाल्चोकका पुराना नेता हिमाल पराजुलीले हात हालेका हुन् ।

केन्द्रीय कार्यालयको छतमा माओवादी नेताहरु शाक्य, सुवेदी लगायत घाम ताप्दै बसेका थिए । त्यहिबेला पराजुली आइपुगे । उनले संयोजक झक्कु सुवेदीकी छोरी भावना, प्रेस सेन्टर संयोजक महेश्वर दाहालकी श्रीमती सीतालाई किन सांसद बनाको भन्दै विरोध गरेपछि शाक्य र सुवेदीले त्यसको प्रतिवाद गरेका थिए ।

पार्टीको रगत र पसिना बगाएका कार्यकर्तालाई नबनाएर पसल खोलेर बसेकी सीतालाई बनाएको भन्दै पराजुलीले विरोध गरेका थिए । विवाद बढ्दै गएपछि पराजुलीले शाक्य र सुवेदीलाई एक थप्पड हानेको कार्यालयका कर्मचारीले देखेका थिए । शाक्य र सुवेदीलाई सामान्य चोट लागेको छ ।

कसैका छोरी, कसैका श्रीमती, कसैका बुहारीलाई सांसद बनाउने तर पार्टीमा योगदान गरेका, शहिद परिवारलगायतलाई किन हटाएको भनेर आफूले भनेको र उनीहरुले तपाईंले भनेर हुँदैन भन्ने जवाफ दिएपछि विवाद बढेको पराजुलीले बताए ।

त्यसैगरी दोलखाका आङदेण्डी लामासँग मोटो रकम लिएर समानुपातिक सांसद बनाइएको तर आफूलाई हटाइएको भन्दै पराजुलीले विरोध गरेका थिए । लामा केही दिन पहिला मात्रै माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

सिन्धुपाल्चोकका पुराना माओवादी नेताहरुमध्येमा पर्ने पराजुली समानुपातिक कोटाको एक नम्बरमा थिए तर उनको नाम शुक्रबार माओवादीले निर्वाचन आयोगमा बुझाएको सूचीमा परेन । सिन्धुपाल्चोकबाट समानुपातिकबाट एकजना पनि प्रदेश सांसद बनेका छैनन् ।

Loading...