अन्तर्घात र बाबुरामको नयाँ शक्तिका कारण हारेको प्रचण्डको खुलासा

काठमाडौं, २८ असार । अन्तर्घात र नयाँ शक्तिका कारण माओवादीले ५० स्थानीय तह गुमाउनुपरेको निष्कर्ष निकालेको छ । माओवादीले अत्यधिक आशा गरेका रोल्पा, गोरखा, सल्यान, कञ्चनपुर, दाङजस्ता जिल्लामा अपेक्षित जित हासिल गर्न सकेन । २२ जिल्लामा त माओवादीले एउटा पनि तहको प्रमुख जितेको छैन । ती जिल्लाका कतिपय गाउँपालिकामा जित्न सक्ने अवस्था भए पनि सांगठनिक परिचालन मिलाउन नसकेको उसको समीक्षा छ । माओवादीले हारका विषयमा अनौपचारिक समीक्षा गरे पनि सचिवालयको औपचारिक बैठक भने २ साउनमा बोलाएको छ ।

मतदाता नामावली छुट्दा पनि माओवादी हार्‍यो 

पार्टी समर्थकको नाम मतदाता नामावलीमा नाम छुट्दा पनि हार व्यहोर्नुुपरेको माओवादी केन्द्रका नेता गोपाल किरातीले बताए । दोस्रो संविधानसभा निर्वाचन हुँदा वैद्य नेतृत्वको माओवादीले बहिस्कार गरेको थियो । बहिस्कार गर्ने समूहले नाम दर्ता गराएको थिएन । तर, वैद्यलाई छोडेर माओवादी केन्द्रमा समाहित भएका बादल समूहका अधिकांशको पनि नामावलीमा नाम नहुँदा माओवादीले हार्नुपरेको उनको भनाइ छ ।

निर्वाचनपछि समीक्षा गर्दै माओवादी 

माओवादी केन्द्रले स्थानीय तहको पहिलो र दोस्रो चरणमा ल्याएको मतपरिणामको विषयमा समीक्षा गर्न २ साउनमा (सोमबार) केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

कांग्रेस एमालेभन्दा धेरै अन्तरले पछाडि परेकोमा माओवादीले गम्भीर समीक्षा गर्ने भएको छ । माओवादीले पहिलोभन्दा पनि दोस्रो चरणमा कम तह जितेको छ । माओवादीले दुवै तहमा एक सयभन्दा बढी तह जित्ने आँकलन थियो । तर, अहिलेसम्म परिणाम आएका ६१७ स्थानीय तहमध्ये माओवादीले जम्मा ८४ तह मात्र जितेको छ ।

२२ जिल्लामा माओवादी शून्य 

पहिलो र दोस्रो चरण गरी अहिलेसम्म ६७ जिल्लामा स्थानीय तहको निर्वाचन हुँदा माओवादीले २२ जिल्लामा एउटा पनि तहको प्रमुख जितेन । प्रदेश नम्बर १ का १४ जिल्लामध्ये सात जिल्लामा शून्य भएको छ । जसमा झापा, सुनसरी, इलाम, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम र धनकुटा छन् । प्रदेश नम्बर ३ का १३ जिल्लामध्ये चार जिल्लामा शून्य भएको छ । जसमा काठमाडौ, भक्तपुर, रसुवा, दोलखामा शून्य भएको छ । प्रदेश नम्बर ४ का ११ जिल्लामध्ये पाँच जिल्लामा माओवादी शूून्य भएको छ । जसमा कास्की, स्याङ्जा, म्याग्दी, मनाङ र मुस्ताङ छन् । प्रदेश नम्बर ५ का १२ जिल्लामध्ये २ जिल्लामा शून्य भएको छ जसमा पाल्पा र कपिलवस्तु छन् । प्रदेश नम्बर ६ का १० जिल्लामध्ये २ जिल्लामा शून्य भएको छ जसमा मुगु र सुर्खेत छन् । प्रदेश नम्बर ७ का ९ जिल्लामध्ये बझाङ र बाजुरामा माओवादी शून्य भएको छ ।

नयाँ शक्तिका कारण २० भन्दा धेरै तह गुमे 

माओवादीबाट अलग भएका बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका कारण माओवादीले २० भन्दा धेरै स्थानीय तह गुमाउनुपरेको विश्लेषण गरेको छ । गोरखा, रसुवा, धादिङ, धनकुटा, ताप्लेजुङलगायतका जिल्लामा २० भन्दा धेरै तह गुमाउनुपरेका आन्तरिक रिपोर्टिङ छ । माओवादी र नयाँ शक्तिबीच तीव्र प्रतिस्र्धा हुँदा गोरखाका थप सात तह कांग्रेसले जितेको छ । गोरखाका पालुङटार र गोरखा नगरपालिका तथा अजिरकोट, धार्चे, गण्डकी, सिरानचोक र भीमसेन गाउँपालिका कांग्रेसले जितेको माओवादी भनाइ छ । त्यसो त कांग्रेसले गोरखाकै आरुघाट र चुमनुब्री पनि जितेको छ । माओवादीले सहिद लखन थापा र सुलिकोट गाउँपालिका मात्रै जितेको छ ।

 
Loading...