प्रचण्डप्रति गम्भीर आरोप लगाएर दुष्प्रचार गर्न थालिएको भन्दै आपत्ती

काठमाडौं, ८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग सरकार नेतृत्वका विषयमा भएको आलोपालो प्रणाली बारेको सहमतिलाई दुष्प्रचार गरिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ ।

प्रचण्डले सार्वजनिक गरेको आलोपालोको प्रसङ्ग जिम्मेवारी बाँडफाँड र शक्ति विन्यासका सन्दर्भमा भएको स्पष्ट पार्दै सचिवालयले भनेको छ– ‘दिनलाई नै रात पार्ने गरी फेरि पनि नेपालमा राजनीतिक अस्थिरता निम्त्याइँदै छ, ९–९ महिनामा सरकार फेरिन्छ जस्ता कुतर्क र कुप्रचार गरिएको छ । जुन शत प्रतिशत गलत र भ्रामक छ ।’

पार्टी एकता सम्मानजनक रुपमा नै हुन्छ भन्ने सन्दर्भमा भनिएको कुरालाई बङ्गाएर आफूअनुकूल व्याख्या गरेर भ्रम छरिएको भन्दै सचिवालयले अगाडि भनेको छ– ‘नेपालमा स्थिर सरकारका पक्षमा कोही दृढतापूर्वक उभिएका छन् भने त्यो कमरेड केपी ओली, कमरेड प्रचण्ड र बामपन्थी नेताहरु नै उभिएका छन् ।’

वामपन्थीमात्र नेपालमा स्थिर सरकारका पक्षमा उभिएको दाबी गर्दै सचिवालयले अब देशमा स्थायित्व हुने समेत विश्वास गरेको छ ।

प्रचण्डले सरकारको नेतृत्वमा आलोपालो सहमति भएको भन्ने अभिव्यक्ति दिएपछि वाम गठबन्धनको चर्काे विरोध भइरहेको छ । अढाई वर्ष ओली र अढाई वर्ष प्रचण्ड प्रधानमन्त्री बन्ने खबरले वाम गठबन्धनका कार्यकर्ता नै विरोधमा उत्रिएका छन् । उनीहरुले आलोपालो गर्ने नै भएपछि ५–५ वर्षको गर्न सुझाव दिइरहेका छन् ।

Loading...