कालिकोटमा झडप, प्रहरीले चलाएको गोली लागेर प्रहरीकै ज्यान गयो, थुप्रै घाइते

कालिकाेट, ७ पुस । कालिकाेटमा प्रहरीले चलाएकाे गाेली लागेर एक जना प्रहरीकै ज्यान गएकाे छ । मृत्यु हुने प्रहरी नेपाल प्रहरीका जागिरे नभइ चुनावका लागि परिचालन गरिएका म्यादी प्रहरी हुन् । सदरमुकाम मान्ममा प्रहरी र प्रतिनिधि सभा र प्रदेश सभाका लागि परिचालन गरिएका म्यादी प्रहरीबीच भएकाे भिडन्तमा परी एक जना म्याद प्रहरीकाे ज्यान गएकाे हाे ।

तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुसमा प्रहरीले गोली चलाउँदा ती म्यादी प्रहरीकाे ज्यान गएकाे हाे । मृत्यु हुनेमा शान्नित्रिवेणी गाउँपालिका–४ तिकुवा निवासी २४ वर्षीया विवेक ऐडी रहेका छन् । अहिले म्यादी प्रहरी र उनका अाफन्तहरु मृतककाे शव जिल्ला प्रशासन कार्यालय अगाडि राखेर विराेध जनाइरहेका छन् । झडपमा परी अन्य थुप्रै व्यक्तिहरु घाइते भएकाे बताइएकाे छ । साथै केही वालबालिकाहरु पनि भाग्ने क्रममा चाेटपटक लागेकाे छ ।

मृतक एेडीकाे टाउकाेमा नै गाेली लागेकाे छ । टाउकाेमा गाेली लागेर ढलेका म्यादी प्रहरी एेडीलार्इ उपचारका लागि जिल्ला अस्पताल कालिकोटमा लगिएको थियाे । अस्पताल पुग्दासम्म जिवितै रहेका उनकाे केहीबेरमा नै मृत्यु भएको हो ।

निर्वाचनमा परिचालन गरिएवापत दिइने भनिएकाे तलब र अन्य सुविधामा प्रहरीले व्यापक कटाैती गरेपछि देशभरका म्यादी प्रहरी अहिले अान्दाेलनमा छन् । त्यसैक्रममा कालिकाेटमा पनि म्यादी प्रहरीले अान्दाेलन गरेका थिए । म्यादी प्रहरीको तलब यसअघि २४ हजार मात्र भुक्तानी दिइएको थियाे । बाँकी रहेको तलवमा स्थानिय भत्ता नदिएको, पोषक भत्ता बढी काटेको र निर्वाचन स्थलमा जाँदा नियुक्ति पत्र नदिएर तलब समेत उल्लेख नगरी ३४ हजार दुई सय ५० दिने भनेकाे थियाे । पछि तलबका बारेमा चित्त नबुझेको भन्दै म्यादी प्रहरीले विरोध जनाएर ज्ञापन पत्र बुझाउन गएका थिए । ज्ञापनपत्र बुझाउन गएका बेला प्रहरीले उनीहरुमाथि दमन गरेपछि झडप बढेकाे हाे । ज्ञापन पत्र बुझाउन गएका म्यादी प्रहरीमाथि लाठी प्रहार गरिएपछि ढुंगामुडा प्रहार भएको थियो । यसपटककाे निर्वाचनमा कालिकोटमा मात्र ९ सय जना म्यादी प्रहरी परिचालन गरिएकाे थियाे ।

शान्तिपूर्ण रुपमा अाफ्ना मागहरु राखेर ज्ञापन पत्र बुझाउन गएका म्यादी प्रहरीमाथि प्रहरीले अनावश्यक हस्तक्षेप तथा दमन गरेपछि झडप बढेकाे भन्दै सराेकारवालाहरुले विराेध जनाएका छन् । साथै प्रहरीले ताकी ताकी गाेली हानेकाे भन्दै जिल्लामा व्यापक विराेध भएकाे छ ।

कालिकाेट प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुवासचन्द्र बोहराले नै गोली चलाउने आदेश दिएकाे म्यादी प्रहरीले जनाएका छन् । गाेली लागेर एक जनाकाे मृत्यु भएपछि अहिले कालीकोटको अवस्था तनावग्रस्त छ । आन्दोलनकारी म्यादी प्रहरीले जिरोप्वाईन्टमा रहेको प्रहरी विटमा आगो जलाएका छन भने जिल्ला प्रहरी कार्यालयमा तोडफोड गरेका छन । आन्दोलनलाई शान्त बनाउनका लागि अहिले जिल्ला प्रशासन कार्यालयमा राजनैतिक दल, प्रशासनबीच बैठक बसिरहेको छ ।

प्रहरीले अश्रुग्याँस र हवाइ फायर जारी राखेको छ भने प्रशासनले कर्फ्यू लगाएको छ । मृतक विवेक ऐडीको शव जिल्ला प्रशासन अगाडि राखिएको छ । कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले एकजनाकाे मृत्यु भएकाे पुष्टी गरेका छन् । उनले विदाई भएका म्यादी प्रहरीले जिप्रकामा ढुंगामुडा गरेपछि झडप भएपछि प्रहरीले अश्रुग्यास मात्र चलाएको दावी गरेका छन् ।

जिल्लामा शैक्षिक मेला भइरहेको अवस्थामा प्रहरीले अश्रुग्यास प्रहार गर्दा एक दर्जन बालवालिकाहरुको विचल्ली भएको छ । उनीहरुकाे अवस्था के छ भन्ने केही थाहा नभएकाे बताइएकाे छ ।

Loading...