वाम गठबन्धनले सरकार बनाउने पक्का भएपछि नेपाल आउँदै चिनियाँ राष्ट्रपति सी जिनपिङ

काठमाडौं, ४ पुस । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्चमा नेपाल भ्रमणमा आउने गरी तयारी सुरु भएको छ । राष्ट्रपति सी नेपाल भ्रमणमा आउने चर्चा चले पनि यसअघि भ्रमण हुन सकेको थिएन । यसपटक भने उनले नेपाल भ्रमणलाई आफ्नो कार्यतालिकाभित्र राखेको माओवादीका एक नेताले जानकारी दिए । सीको नेपाल भ्रमण तयारी राष्ट्रपति कार्यालयले सुरु गरिसकेको स्रोतको भनाइ छ ।

राष्ट्रपति सी २०१६ सेप्टेम्बरमा नेपाल भ्रमणमा आउन चाहेका थिए । दक्षिण एसियाका श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान र भारतलगायत अधिकांश देशको भ्रमण गरिसके पनि उनी नेपाल भ्रमणमा आएका छैनन् ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका बेला राष्ट्रपति सीको भ्रमण तयारी भए पनि त्यसबेला नेपालमा सरकार परिवर्तनलगायत राजनीतिक अस्थिरताका कारण भ्रमण स्थगन भएको थियो । अहिले नेपालमा निर्वाचनमार्फत स्थिर सरकार निर्माण हुने क्रममा रहेको र अझ त्यसमा पनि वामपन्थीहरूले सरकार गठन गर्ने भएपछि सीको भ्रमण तयारी सुरु भएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको कात्तिकमा सम्पन्न सम्मेलनले सीलाई दोस्रो कार्यकालका लागि राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव चयन गरेपछि उनी अहिले चीनमा माओपछिकै शक्तिशाली नेताका रूपमा चिनिएका छन् । उनको भ्रमणक्रममा केरुङ-रसुवागढी-काठमाडौं रेलमार्ग विस्तार गर्ने, तेल पाइपलाइन जोड्नेलगायत महत्वपूर्ण सम्झौताको तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । त्यस्तै, नेपालले चीनलाई उपहारस्वरूप दिने भनेको दुईवटा गैंडा पनि सोही बेला हस्तान्तरण गर्ने तयारी छ ।

एमाले र माओवादीको वाम गठबन्धनको बहुमतबाट स्थिर सरकार बनाउने र विकासलाई प्रोत्साहित गर्ने बाटो खुलेपछि चीनले आफ्ना राष्ट्रपतिको भ्रमण गराउन गृहकार्य थालेको हो । नेपालमा वाम गठबन्धनको जितलाई अन्तर्राष्ट्रिय मिडियाले समेत छिमेकी चीनसँग निकटस्थको विजयका रूपमा व्याख्या गरिरहेको सन्दर्भमा भ्रमण तयारी भएको हो ।

Loading...