अहिलेसम्मकै बढी बिगो मागदाबीमा गरेर नयाँ रेकर्ड राखेको अख्तियारको दावी

काठमाडाैं, ३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा दायर गर्ने क्रममा हालसम्मकै बढी बिगो मागदाबी गरेको छ ।

दुई दिनअघि राष्ट्रपतिलाई बुझाइएको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७३/७४ मा अख्तियारले हालसम्मकै बढी मागदाबी लिएको उल्लेख छ । विशेष अदालतमा दायर यी मुद्दामध्ये अधिकांशको फैसला आउन बाँकी छ । गत आर्थिक वर्षमा विशेष अदालतमा मुद्दा दायर गर्ने क्रममा ११ अर्ब ५२ करोड ११ लाख रुपैयाँ बिगो मागदाबी गरेको प्रतिवेदनमा उल्लेख छ ।

कर फस्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्यसचिव चूडामणि शर्माविरुद्ध राजस्व छलीको आरोपमा दायर भ्रष्टाचार मुद्दाका कारण वार्षिक बिगोको आकार झन्डै सात गुणाले बढेको हो ।

आर्थिक वर्ष २०७२/७३ मा कुल बिगो मागदाबी एक अर्ब ३३ करोड र २०७१/७२ मा एक अर्ब ३९ करोड रुपैयाँ थियो । गत वर्ष कर फस्र्याेट आयोगका पदाधिकारीविरुद्ध मात्रै १० अर्ब २ करोड रुपैयाँका दरले बिगो मागदाबी गरिएको थियो ।

Loading...