यस्तो छ पर्यटक स्तरका होटलहरुको क्षमता, देशभरिका होटेलमा राखियो भने वार्षिक २५ लाख पर्यटक धान्न सक्ने

काठमाडाैंं, ३ पुस । नेपालमा रहेका होटलले वार्षिक २५ लाख पर्यटकलाई सेवा दिन सक्ने एक अध्ययनले देखाएको छ ।

पछिल्लो समय गरिएको एक सर्वेक्षणले नेपालमा २५ लाख ३१ हजार पर्यटक धान्नसक्ने क्षमता पर्यटकस्तरका होटलमा रहेको देखाएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षणअनुसार हाल पर्यटकस्तरका होटलसहित तारे होटलहरूमा दैनिक ६९ हजार ३ सय ३५ रुम उपलब्ध रहेको र यसले वार्षिक २५ लाख पर्यटक धान्नसक्ने देखाएको छ ।

नेपालमा पर्यटकस्तरका होटलको संख्या २ हजार ५ सय १ रहको समेत पाइएको छ । विगतमा १५ देखि १७ लाख पर्यटकमात्रै धान्नसक्ने अवस्थामा होटलहरू रहेको बताउँदै आउने गरेको भए पनि पछिल्लो समय देशभरका ५७ जिल्लामा गरिएको अध्ययनमा यस्तो पाइएको हो । नेपाल पर्यटन बोर्ड तथा पर्यटन विभागसहित नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा नेपालमा होटलहरूको संख्याले तत्काल २५ लाखभन्दा बढी पर्यटक धान्नसक्ने क्षमता रहेको पाइएको छ ।

सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७३-७४ मा मात्रै ६ हजार १ सय ८८ वटा रुम थपिएको छ । काठमाडौं बाहिरका अधिकांश होटल तथा लजहरू आन्तरिक पर्यटकले धानिँदै आएको समेत सर्वेक्षणमा उल्लेख गरिएको छ । सर्वेक्षणअनुसार पछिल्लो वर्षमात्रै होटलमा लगानी ९.९७ प्रतिशतले बढेको छ ।

राष्ट्रबैंकले मुख्यतः काठमाडौं, विराटनगर, नेपालगन्ज, जनकपुर, वीरगन्ज, भैरहवा, पोखरा, धनगढीसहित ५७ जिल्लामा सर्वेक्षण गरेको थियो । राष्ट्रबैंकले गरेको सर्वेक्षण र होटल एसोसिएसनको सर्वेक्षण करिब उस्तै रहेको होटल संघ नेपाल (हान)का महासचिव विनायक शाह बताउँछन् ।

“होटलहरूमा पर्याप्त लगानी भइसकेको छ, अब विमानस्थलमा र सडकमा सरकारको लगानी आवश्यक छ,” शाहले भने । उनका अनुसार नेपालमा सन् २०२० सम्ममा थप ४ हजार कोठाहरू पनि थपिँदै गरेको समेत बताए । हालसम्म नेपालका होटलहरूमा २ खर्ब ३० अर्ब रूपैयाँ लगानी भएको र सन् अहिले थप ३० अर्ब रूपैयाँ लगानी भइरहेको अनुमान हानको छ ।

सन् २०१७ को १० महिनामा ७ लाख ५० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । उक्त संख्या २०१७ मा १० लाख पुग्ने र हालसम्मकै सवैभन्दा बढी पर्यटक आउने अनुमान गरिएको छ ।

पर्यटक आगमनदर बढे पनि एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कारण भने समस्या आउने देखिन्छ । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेका अनुसार त्रिभुवन विमानस्थले नै सजिलै १५ लाख पर्यटक धान्नसक्ने दावी गर्दछन् ।

“अहिले जहाजहरू ५२ प्रतिशत मात्रै यात्रु लिएर उडेका छन्, बाँकी ४८ प्रतिशत थपिनेवित्तिकै १५ लाख पर्यटक धान्न सक्छ,” न्यौपानेले भने ।

राष्ट्र बैंकको तथ्यांकअनुसार काठमाडौंमा मात्रै ७ सय ५० होटलका २७ हजार ३ सय ७१ रुम संख्या उपलबध रहेको जनाएको छ । उक्त सर्वेमा ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, काभ्रे, धुलिखेललगायत यस क्षेत्र समेटिएको छ । यस्तै, पोखरामा ८ सय १ होटलका १७ हजार २९ वटा रुम रहेको छ । कास्कीसहित, तनहुँ, लमजुङ, गोरखा, स्याङ्जा, बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङ क्षेत्र समेटिएको छ ।

वीरगन्जमा पनि ४ सय ९४ पर्यटकस्तरका होटलमा १३ हजार ४ सय ९६ रुम रहेका छन् । त्यस्तैगरी, नेपालगन्जमा १ सय ६९ होटलमा ४ हजार २ सय ७४ रुम रहेका छन् । विराटनगरमा १ सय ५१ होटलमा २ हजार ७ सय ५९ रुम रहेका छन् ।

त्यस्तैगरी जनकपुरमा ४६ होटलमा १ हजार ३ सय ८० रुम रहेका छन् । भने धनगढीमा ३८ होटलमा १ हजार १ सय १६ रुम रहेका छन् भने भैरहवामा ५२ होटलमा १ हजार ९ सय ३० वटा रुम छन् ।

Loading...