नेपालीको टिपिएस नविकरणका लागि एनआरएनएद्वारा अमेरिकी सरकारका प्रतिनिधिसँग भेटघाट

काठमाडाैं । नेपालीहरुका लागि टेम्पोररी प्रोटेक्ट स्टाटस (टिपिएस) नवीकरणका लागि अमेरिकामा नेपाली समुदाय जुट्न थालेका छन् । एनआरएनअमेरिकाले पहल सुरु गर्दै अमेरिकी सरकारका होमल्याण्ड सिक्युरिटी, स्टेट डिपार्टमेन्ट र कंग्रेस अफिसरहरुसंग भेट गरी नवीकरणका लागि प्रयास सुरु गरेको छ ।

गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको नेतृत्वमा गएको टोलीले अमेरिकी कंग्रेसस्थित नेपाल ककसका प्रमुख जेरड पोलिस, नेपाल ककसका सदस्यद्धय श्याम ग्रेभ्स र सुजन डेल्बेने तथा न्युयोर्कका कंग्रेसम्यान ग्रेस मेङ्गका प्रतिनिधिहरुसँग भेट गरेका छन् । सो भेटका क्रममा अमेरिकामा अस्थायीरुपले बसिरहेका नेपालीहरुलाई अमेरिकन सरकारद्धारा प्रदान गरिएको टिपिएस सुविधा नवीकरणका लागि छलफल गर्नुका साथै लिखित ज्ञापनपत्र समेत बुझाएको जानकारी एनआरएन अमेरिकाका मिडिया कोअडिनेटर बालजोशीले नागरिकन्युजलाई बताए ।

गैरआवासीय नेपाली संघका प्रतिनिधिको टोलीले अमेरिकाको राजधानी वासिंट्न डिसीस्थित विभिन्न कंग्रेस नेताहरु अमेरिकी सरकारका होमल्याण्ड सिक्युरिटी, स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग भेटेका हुन् । नेपालमा गएको भूकम्पका कारण अमेरिकी सरकारले अमेरिकामा बसोबास गरिहेका नेपालीहरुका लागि टीपिएस सुविधा उपलब्ध गराएको थियो ।

सो टिपीएस नवीकरण गर्दा र नगर्दा यसबाट पर्ने दीर्घकालीन समाधानका लागि परामर्श गरेको संघका अमेरिका अध्यक्ष डा केशव पौडलले बताए । अमेरिकी सरकारका प्रतिनिधिहरुसँगको भेट निकै फलदायी भएकाले टिपीएस नवीकरण हुनेमा आशावादी रहेको अध्यक्ष पौडेलले बताए ।

नेपाली प्रतिनिधि मण्डलले बुझाएको लिखित पत्रमा नेपालका लागि अस्थायी रुपमा हाललाई कम्तिमा तीन वर्षको टिपिएस नवीकरण तथा विधयकमार्फत यो समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक पहल गर्न सबै कंग्रेसनल लिडरहरुका प्रतिनिधिहरुमार्फत् आवश्यक प्रकृया अगाडि बढाउनका लागि आग्रह गरिएको छ।

अमेरिकामा रहेका टिपिएसधारी नेपालीहरुको समस्याबारे आफूहरु अवगत रहेको र यो समस्याको दीर्घकालीन समाधानका लागि आफूहरु चिन्तित रहेको भेटघाटका क्रममा ती प्रतिनिधिहरुले बताएको कुरा अध्यक्ष पौडेलले बताए ।

Loading...