पर्यटकका लागि आकर्षक गन्त्व्य बन्दै काउलेपानी होमस्टे

लमजुङ, १ पुस । घरबास (होमस्टे) का लागि उत्कृष्ट भनिएको गाउँशहरको काउलेपानीमा रु ४० लाखको लगानीमा विभिन्न पर्यटकीय संरचना निर्माण गरिएको छ । सदरमुकाम बेँसीशहर नगरपालिका–३ गाउँशहरको काउलेपानी क्षेत्रको पर्यटन विकास र गाउँमा आउने पाहुनालाई स्तरीय सेवा प्रदान गर्नका लागि त्यस्ता संरचना निर्माण गरिएको हो ।

गाउँमा पदैल मार्ग, पाहुना सत्कार कक्ष, दृश्यावलोकन टावर, खानेपानी व्यवस्थापन, वनभोजस्थल तथा काउलेपानी देवी मन्दिर जाने बाटो र पुल गरी झण्डै ४० लाखको लागतमा ती संरचना निर्माण गरिएका छन् ।

छ वर्षअघिदेखि होमस्टे सञ्चालन भएको काउलेपानी गाउँमा घरैपिच्छे पानीको धारा जडान गरिएको छ । गाउँ आसपासमा घुम्न, मन्दिरसम्म पुग्न पैदलमार्ग निर्माण, खोला खोल्सामा पुलसमेत बनाइएको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देउबहादुर गुरुङले बताए ।

यस्तै, गाउँ नजिकै वनभोजस्थलको व्यवस्था गरिएको छ । गाउँ भित्रिएका पाहुनालाई स्वागत गर्न सत्कारगृह निर्माण गर्नुका साथै सूर्योदय र सूर्यास्तको दृश्यावलोकन र तस्वीर खिच्न मिल्ने गरी भ्युटावरको निर्माण गरिएको गुरुङले बताए ।

सरकारी तथा गैरसरकारी संस्थाको सहयोग र स्थानीयवासीको जनश्रमदानसँगै गाउँको कोषबाट रकम जुटाएर कूल ४० लाख १७ हजारको लागतमा ती संरचना निर्माण गरिएको होे ।

पर्यटन विकास समितिका सचिव जगतबहादुर गुरुङका अनुसार एकघर–एक धारो निर्माणका लागि जिल्ला पर्यटन विकास समितिले पाँच लाख सहयोग गरेको थियो । त्यस्तै, सिँढीसहितको पैदलमार्ग निर्माणका लागि पनि सोही समितिले एक लाख ५० हजार उपलब्ध गराएकोमा त्यसमा स्थानीयले श्रमदान र नगद गरी करिब पाँच लाख खर्च गरेका छन् ।

समितिका अनुसार बेँसीशहर नगर विकास समितिको पाँच लाख सहयोग र स्थानीयको दुई लाख ६७ हजार लगानी गरी गाउँभन्दा माथि वनभोजस्थल बनाइएको छ । गाउँलेले पर्यटन कार्यालय पोखराको पाँच लाख र स्थानीयको चार लाख ५० हजारको लागतमा काउलेपानी देवी मन्दिर जाने पैदलबाटो र पुल निर्माण गरेका छन् । बेँसीशहर नगरपालिकाको दुई लाखमा स्थानीयले तीन लाख थप गरी पाँच लाखको लागतमा पाहुना सत्कारगृह निर्माण गरिएको छ ।

लमजुङ उद्योग वाणिज्य संघको ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत तीन लाखको सहयोगमा स्थानीयले पाँच लाख थप गरी कूल आठ लाखको लागतमा दृश्यावलोकन भ्युटावर निर्माण गरिएको छ । टावरलाई तीन तल्लासम्म उठाउने लक्ष्य रहेकामा अहिले एक तल्लामात्रै बनाइएको समितिका सचिव गुरुङले जानकारी दिए ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टे गाउँ घोषणा गरेपछि काउलेपानी जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्न थालेको छ ।

सदरमुकाम बेँसीशहरबाट मोटरमा करिब सात किलोमिटर कच्ची बाटो पार गर्दै पुगिने गाउँशहरको काउलेपानी गाउँ समुन्द्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा छ । काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङलगायत १४ वटा हिमश्रृङ्खला देख्न सकिन्छ ।

Loading...