सुरक्षा परिषदमा चीन, रुस र अमेरिकाबीच उत्तरकोरियाको विषयलार्इ लिएर चर्को आरोप प्रत्यारोप

काठमाडाैं । शुक्रबार उत्तर कोरियाको विषयलाई लिएर डाकिएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा उत्तर कोरिया, अमेरिका, रुस र चीन एकअर्काविरुद्ध आरोपप्रत्यारोपमा उत्रिएका छन्। रुस र चीनले उत्तर कोरियाली आणविक तनावलाई शान्तिपूर्ण तरिकाले हल गर्न अमेरिकाले नचाहेको बताएका छन् भने अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले वार्तामा बस्नुअघि उत्तर कोरियाले त्यसको वातावरण बनाउनुपर्ने बताए।

बैठकमा राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूत जा सङ नामले आफ्नो देशको आणविक कार्यक्रम ‘आत्मरक्षाका लागि अनिवार्य सर्त’ भएको बताएका थिए। उत्तर कोरियाली राजदूत बोलिसकेपछि पहिले नै बोलिसकेका टिलरसनले फेरि समय मागेर उत्तर कोरियाको कडा आलोचना गरेका थिए।

उनले जारी तनावका लागि उत्तर कोरिया सम्पूर्ण रुपमा जिम्मेवार भएको भन्दै त्यसको जिम्मा पनि सोही राष्ट्रले लिनुपर्ने बताए। ‘यो समस्याको समाधान पनि उनीहरुले मात्रै गर्न सक्छन्,’ उनले भने। त्यतिञ्जेल अमेरिकाले कूटनीतिक र आर्थिक रुपले उत्तर कोरियालाई दबाब दिइरहने र सैन्य रुपले पनि तयार रहने उनले बताए।

केही दिनअघि टिलरसनले उत्तर कोरियासँग वार्ताका लागि आफूहरुले कुनै पूर्वसर्त नराख्ने बताएका थिए। सोबारे सोधिएको प्रश्नमा उनले पत्रकारहरुसँग भने, ‘हामी कुनै पूर्वसर्त स्वीकार्ने छैनौँ। हाम्रा सम्पर्क सूत्रहरु खुला छन्। उत्तर कोरियालाई थाहा छ, ती सूत्र खुला छन्। ढोका कहाँनेर छ भन्ने कुरा पनि उनीहरुलाई थाहा छ। त्यो ढोकाबाट प्रवेश गरेर कहाँ जाने भन्ने पनि उनीहरुलाई थाहा छ।’

उता सुरक्षा परिषदको बैठकमा भने रुसी तथा चिनियाँ राजदूतहरुले अमेरिकी नीति र उसले कोरियाली प्रायद्वीपमा जारी राखेको सैन्य अभ्यासको आलोचना गरेका छन्।

‘आफ्नो सुरक्षामा प्रत्यक्ष खतरा महसुस गरुञ्जेल उत्तर कोरियाले आणविक कार्यक्रम रोक्नेछैन भन्ने कुरामा सबैजना स्पष्ट हुनुपर्छ,’ राष्ट्रसंघका लागि रुसी राजदूत वासिली नेबेन्ज्याले भने। नेबेन्ज्याले अमेरिकी गठबन्धनको लगातारको सैन्य अभ्यासतिर संकेत गर्दै भने, यस्तो तनावको अवस्थामा एक मात्रै गल्तीले पनि पश्चातापपूर्ण परिणतिमा पुर्‍याउन सक्छ।’

उनले टिलरसनलाई सोधे, ‘अमेरिका उत्तर कोरियाली तनावलाई शान्तिपूर्ण तरिकाले समाधान गर्न इच्छुक छ कि छैन?’ चिनियाँ प्रतिनिधिले पनि यही लयमा भने, ‘प्रायद्वीपको वर्तमान परिस्थितिका लागि कुनै एक पक्ष मात्र पूर्ण रुपमा जिम्मेवार छैन।’

यो आरोपहरुको खण्डन गर्दै अमेरिकी विदेशमन्त्री टिलरसनले उत्तर कोरियामाथि थप सिर्जना गर्ने अडान लिए। उनले आर्थिक सहायता र कच्चा तेल आयात गर्न दिएकोमा चीनको पनि आलोचना गरे।

रुस र चीन दुवैले समस्या समाधानका लागि अमेरिकी र उत्तर कोरियाली पक्षले आआफ्ना गतिविधि रोक्नुपर्ने (फ्रिज फर फ्रिज) प्रस्ताव गरेका थिए। अमेरिकाले सो प्रस्ताव अस्वीकार गर्दै आएको छ।

Loading...