झाँक्रीले बोक्सी भनेपछि ढेगनीदेवीको यसरी गरिएको थियो बिभत्स हत्या

चितवन, पुस १ । सर्वोच्च अदालतले चितवनको बघौडामा बोक्सीको आरोपमा मारिएकी ढेगनीदेवी महतोको हत्या झाँक्रीकै कारण भएको ठहर गरेको छ । यसै हप्ता पूर्ण फैसला गर्दै सर्वोच्चले यस्तो फैसाला गरेको हो ।

फैसलामा ‘धामी–झाँक्रीले सामाजिक सेवा नभई समाजमा अन्धविश्वास फैलाउने र त्यसको आडमा शोषण गरिरहेको बताइएको छ । बोक्सी प्रथामात्रै होइन, त्यसको कारकका रूपमा रहेको धामी–झाँक्री प्रथाविरुद्ध पनि हाम्रो राज्य, कानुनी प्रणाली र न्याय व्यवस्था उभिन सक्नुपर्ने बताइएको छ ।

२०६८ साल फागुन ५ गते चितवनको बघौडास्थित आफ्नो घरमा गोवर फाल्दै गरेकी ४० वर्षीया ढेगनीदेवी महतोको बोक्सीकै आरोपमा हत्या भएको थियो । ढुङ्गा, लाठी र मुक्का प्रहारबाट घाइते बनाइएकी महतोको शरीरका संवेदनशील अंगहरू क्षतविक्षत पारिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । त्यसपछि उनलाई जिउँदै जलाइएको थियो ।

यस्तो थियो घटनाक्रम

बघौडाकी लक्ष्मी महतोको घरमा पुगेकी उनकी बहिनी मञ्जु महतोको पेट दुख्न थाल्छ । ज्वाइँ विक्रम महतो सहित उनीहरू झाँक्री जुगेश्वरकोमा देखाउँन जान्छन् । झाँक्रीले ‘छिमेकी बोक्सीले दुःख दिएको र उसलाई खतम गर्नुपर्छ’ भन्ने सल्लाह दिएपछि परिवारका सबै सदस्य मिलेर ढेगनीदेवी माथि आक्रमण गरेको जिल्ला अदालतले ठहर गरेको थियो ।

सो घटनामा प्रहरीले सञ्जु महतो, कृष्णकुमारी महतो, विक्रम महतो, लक्ष्मी महतो, मञ्जु महतो र गुजेश्वर महतो, पशुपतिया महतो, सरस्वती महतोलाई प्रतिवादी बनाएको थियो । जिल्ला अदालतले हत्यामा संलग्न सबैका साथै झाँक्रीलाई समेत दोषी ठहर गरेको थियो ।

पुनरावेदन अदालतले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो । पछि सर्वोच्चले समेत पुनरावेदनको फैसलालाई सदर गर्दै बोक्सी प्रथा र त्यसले सिर्जना गर्ने अवराधको गम्भीरताबारे व्याख्या गरेको हो ।

आरोपितहरूमध्ये तीन जना भने जिल्ला हुँदै सर्वोच्चबाटै निर्दोष ठहर भएका छन् । झाँक्री जुगेश्वरकी श्रीमती सरस्वती महतोसहित लक्ष्मी महतो र पशुपतिया महतोले सफाई पाएका हुन् ।

यस्तै सर्वोच्च अदालतले ढेगनीदेवी महतोका सन्तानहरु समिर महतो, मिना महतो र अन्य सन्तान भए उनीहरुको समेत शिक्षादिक्षा, स्वास्थ्य, सुरक्षासमेतको समुचित व्यवस्था गर्नु भनी महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र गृहमन्त्रालयको नाउँमा आदेश जारी गरेको छ ।

बोक्सी आरोप निकृष्ट तहको फौजदारी अपराध

यस्तै सर्वोच्च अदालतले बोक्सी प्रथाबाट उत्पन्न हुने घटनालाई निकृष्ट तहको फौजदारी अपराधका रूपमा व्याख्या गरेको छ । सर्वोच्चको फैसलामा भनिएको छ, ‘समाजमा बोक्सा र बोक्सी हुन्छन् र तिनले मानिस, जीवजन्तु र खेतीबालीमा नोक्सान पु¥याउँछन् भन्ने आधारहिन मान्यताको उग्र विस्फोटका रूपमा हुने यस्ता घटना अन्य ज्यान मुद्दाभन्दा फरक हुन् ।’

सर्वोच्चले बोक्सारबोक्सी प्रथा उन्मूलनका लागि धामी–झाँक्री प्रथा पनि नियन्त्रण गर्नुपर्ने बताएका छ । फैसलामा ‘धामी–झाँक्रीले सामाजिक सेवा नभई समाजमा अन्धविश्वास फैलाउने र त्यसको आडमा शोषण गरिरहेका छन् भनी सबैलाई बुझाउन जरुरी छ, भनिएको छ । ‘बोक्सी प्रथामात्रै होइन, त्यसको कारकका रूपमा रहेको धामी–झाँक्री प्रथाविरुद्ध पनि हाम्रो राज्य, कानुनी प्रणाली र न्याय व्यवस्था उभिन सक्नुपर्छ, भनिएको छ ।

न्यायाधीशहरू केदारप्रसाद चालिसे र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले पश्चिमा समाजमा बोक्सी प्रथा इतिहासको अँध्यारो पाटो बनिसकेको भन्दै नेपालमा अझै पनि बोक्सीको आरोपमा हत्या हुनु गम्भीर अपराध भएको ठहर गरेको छ ।

यस्तै सर्वोच्चले बोक्सा बोक्सी विरुद्ध सचेतनाको निम्ती उपयुक्त पाठ्यक्रम तयार गरी विद्यालय तहको शिक्षामा समावेश गर्न भनी शिक्षा मन्त्रालय तथा सञ्चार मन्त्रालयलाई आदेश दिएको छ ।

Loading...