नयाँ ढंगको पार्टी निर्माणको प्रश्न

प्रारम्भ

यतिबेला नेपाली क्रान्तिको विषय निकै गम्भीर र संवेदनशील बन्न पुगेको छ । नेपाली धर्तीमा मालेमावादको प्रयोग अवरुद्ध भएसँगै विसर्जित हुन पुगेको क्रान्तिको परियोजनालाई पुनर्संगठित गर्दै अगाडी बढाउने दायित्व यतिबेला हाम्रो काँधमा आएको छ । जनयुद्धको आँधीमय दशकद्वारा अंकुरित आशा, अभिलासा र सपनाहरुलाई  भयानक निराशाको हुन्डरीबाट जोगाउदै तिनलाई सही नेतृत्व प्रदान गर्ने ऐतिहासिक अभिभारा पनि हामीले नै पूरा गर्नु छ ।   क्रान्तिकारी आशावाद र क्रान्तिप्रतिको विश्वास जगाउने कुरामा थपिएको यो चुनौती शाहसकासाथ छिचोलेर मात्र हामी अगाडी बढ्न सक्ने छौं ।

 

लेखक : समिर यात्री

जनयुद्धको नेतृत्व गरेको पार्टी छिन्नभिन्न हुनु, पार्टीको मूल नेतृत्व सहितको ठूलो हिस्सा वैचारिक साँस्कृतिक रुपले भ्रष्ट हुँदै अन्ततः वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवादमा पतन हुनु र बचेखुचेका इमान्दार क्रान्तिकारीहरुले समयमा नै पहलकदमी लिएर आफूलाई सहि विकल्पको रुपमा स्थापित गर्न नसक्नुले आज यो चुनौति जटिल बन्न पुगेको तथ्यलाई स्वीकार गर्नै पर्दछ । 

राष्ट्र र जनताको स्वर्णिम भविष्यको आधार क्रान्तिको विजय नै हो । दुनियाँमा यो भन्दा अर्को कुनै उत्तम विकल्प नै छैन । क्रान्तिको पराजय कति पीडादायी हुँदो रहेछ भन्ने कुरा हामीले आफ्नै जीवनमा भोगिरहेका छौं । त्यसैले क्रान्तिको तयारीको काममा एकनिष्ठ ढंगले होमिनु र क्रान्तिकारी आशावाद जगाउँदै सम्पूर्ण क्रान्तिकारीहरुलाई केन्द्रीकरण गर्नुको विकल्प छैन । यसो नगरी हामी अघि बढ्न सक्दैनौं । 

यतिबेला हाम्रो पार्टीले क्रान्तिको तयारी सम्बन्धि कामका सम्पूर्ण शाखाहरुलाई सुव्यवस्थित गर्दै अघि बढ्ने भनेको छ । तर असल कम्युष्टि पार्टी निर्माण प्रक्रियामा अपेक्षित गति आउन सकेको छैन । त्यसैले नयाँ ढंगको पार्टी निर्माणमा विशेष जोड दिनु हाम्रो निमित्त अपरिहार्य आवश्यकता भइसकेको तथ्यतिर ध्यान दिन जरुरी छ । यो नै हाम्रो निमित्त सही प्रस्थानविन्दु हुन सक्दछ । 

नयाँ ढंगको पार्टी निर्माण भनेको के हो ? यसका आधारहरु के हुन सक्छन् ? हाम्रो सन्दर्भमा यो किन आवश्यक छ ? यस सम्बन्धि छलफलका निम्ति विषयको उठान गर्नु यो आलेखको उद्देश्य रहेको छ । 

नयाँ ढंगको पार्टी निर्माण किन ?

सन् १९०५ को विद्रोह असफलतामा टुंगिएपछि रुसमा लेनिनको कम्युनिष्ट पार्टी एक किसिमले छिन्नभिन्न नै भयो । त्यसअघि नै पार्टीमा देखा परेको दक्षिणपन्थी अवसरवादी प्रवृत्ति उक्त घटनापछि जबरजस्ती हाबी हुन पुग्यो । पार्टीको ढाँचा, चरित्र र आन्दोलनको स्वरुपमा समेत अन्तर्विरोध केन्द्रित हुन पुग्यो । 

पार्टीलाई क्रान्तिकारी चरित्र गुम्न दिएर दक्षिणपंथी संशोधनवादी ढर्रामा जान दिने वा क्रान्तिकारी गुणतत्वसहितको पार्टी निर्माण गर्ने भन्ने चुनौती लेनिनको सामु आयो । त्यही सन्दर्भमा लेनिनले नयाँ ढंगको पार्टी निमाणको अवधाराणा विकास गरेका हुन् । लेनिनको पार्टी निर्माण सम्बन्धि यो प्रस्तावना आज पनि दुनियाभरीका कम्युनिष्ट क्रान्तिकारीहरुका लागि मार्गनिर्देशक बनेर रहेको छ । यो हाम्रो निमित्त अन्तर्राष्ट्रिय अनुभवको विषय मात्र होइन, इतिहासको गम्भीर शिक्षा समेत हो । 

हामीले यतिबेला निर्मम ढंगले आत्मसमीक्षा गर्दै र इतिहासको ठीक ठीक ढंगले मूल्याङ्कन गर्दै अगाडी बढ्न जरुरी छ । हाम्रो आन्दोलनका उपलब्धिहरुलाई पूँजीकृत गर्ने र कमजोरीहरुबाट बिनम्रतापूर्बक शिक्षा लिने प्रक्रियाको बीचबाट नै हामी अगाडी बढ्न सक्छौं । 

हाम्रो सन्दर्भमा जनयुद्धको विधिवत विसर्जनको दशक प्रतिक्रान्तिको दशक हो । तर यो प्रतिक्रान्तिको वैचारिक साँस्कृतिक विजारोपण महान जनयुद्धको छलांगमय दशकमै भइसकेको थियो । जनवादी केन्द्रीयताको सहि अभ्यासको अभाव, आर्थिक परिचालनमा कम्युनिष्ट नीतिको अभाव, श्रम तथा उत्पादन सम्बन्धि कम्युनिष्ट दृष्टिकोणको अभाव, नेतृत्व केन्द्रीकरणका नाममा संस्थागत हुन पुगेको अन्धभक्ति र चाकडीवाद, वैचारिक प्राधिकारका नाममा संस्थागत हुन पुगेको स्वेच्छाचारिता र नेतृत्वको सुरक्षाका नाममा नेतृत्वलाई वर्गसंघर्षको भट्टीबाट अलग्याउने जस्ता कमजोरीको जगबाट नै प्रतिक्रान्ति जन्मिएको हो । समग्रमा, माओमादी आन्दोलनले आफ्नो किकासको सापेक्षतामा बैचारिक सांस्कृतिक उचाइ हासिल गर्न नसकेको तथ्य स्वीकार गर्नै पर्दछ ।

पार्टीको यही गलत नीतिमा अभ्यस्त ठूलो हिस्सा भ्रष्ट हुन पुग्यो । भौतिक रुपले ठूला–ठूला लडाइका मोर्चामा विजय हासिल गरेका कमाण्डरहरु समेत वैचारिक साँस्कृतिक धरातल कमजोर हुनु र पार्टीको गलत नीतिमा अभ्यस्त हुनुकै परिणाम आफैंभित्र ढल्न पुगे । क्रान्तिकारीहरुले देखिने गरी प्रतिक्रान्ति महसुस गर्ने बेलासम्म पहल लिन निकै ढिला भइसकेको थियो । हाम्रो आन्दोलनले बेहोरेको क्षति यसैको उपज हो । यस अर्थमा अबको क्रान्तिको तयारी प्रतिक्रान्तिको शिक्षासहितको तयारी हुन जरुरी छ । यसको अभ्यास पार्टी निर्माणकै तहबाट हुन जरुरी छ । 

जनयुद्ध लडेको एउटा तप्का पूर्ण रुपमा भ्रष्ट भइसक्यो, उसको उर्जा पनि नष्ट भइसक्यो, क्रान्तिप्रतिको उसको आशा र विश्वास पनि मरिसक्यो भन्ने प्रष्ट भइसक्यो ।  अर्को एउटा तप्का, जसले क्रान्तिमा धेरै गुमायो र आज पनि क्रान्तिकै पक्षमा छ, क्रान्तिको घाउ र प्रतिक्रान्तिको पीडा पचाउन अभिसप्त छ । तर यसले क्रान्तिको भरोसिलो शक्तिको रुपमा हामीतिर फर्केर विश्वासको आधार खोजिरहेको छ । 

अर्को अर्थमा भन्ने हो भने क्रान्तिप्रतिको, जनताप्रतिको धोखा र गद्दारीको जवाफ दिने नैतिक दायित्व पूरा गर्ने ठाउँमा हामी उभिएका छौं । त्यो हैसियत राख्ने गरी पार्टी निर्माणमा गम्भीर बन्नै पर्दछ । ताकि फेरि पनि नेपाली जनताले क्रान्तिप्रतिको धोखा र गद्दारीको पुनरावृत्ति बेहोर्नुपर्ने छैन भन्ने कुरामा आशावादी बनाउन सकियोस । नयाँ ढंगको पार्टी निर्माणको औचित्य यहिनेर छ । 

नयाँ ढंगको पार्टी निर्माणका सर्तहरु:

एकातिर जनयुद्धको ठूलो हिस्साभित्र देखापरेको थकान र अर्कोतिर आजको नयाँ पुस्ता राजनीतिबाट पूर्णतः विमुख रहेको यो जटिल अवस्थामा क्रान्तिकारी पार्टी निर्माणको विषय आफैंमा चुनौतिपूर्ण कार्यभार हो । यो कार्यभार पूरा गर्ने दायित्व पनि हामीले नै पूरा गर्नुछ । यो स्थितिमा पार्टी निर्माण कसरी गरिनेछ भन्ने कुराले धेरै अर्थ राख्नेछ । नयाँ ढंगको पार्टीले मात्र अब क्रान्तिको नेतृत्व गर्न सक्दछ । त्यस्तो पार्टी निर्माणका शर्तहरु निम्न अनुसार हुन सक्दछन् ः १. कार्यदिशाको विकास ः वास्तवमा तत्कालीन एमाओवादीबाट संम्बन्ध विच्छेद गरी पार्टी पुनर्गठन गरिएसँगै ठोस कार्यदिशा निर्माण गर्नुपर्दथ्यो, हुन सकेन । त्यसो हुन सकेको भए आजसम्म पार्टी जीवनका कार्ययोजनाले अर्को उचाइ हासिल गरिसकेको हुने थियो ।  

वास्तवमा कार्यदिशा निर्माण अहम् सवाल हो । क्रान्तिकारी पार्टी निर्माणको पहिलो सर्त नै यही हो । कार्यदिशाको आधारमा पार्टी निर्माण हुने हो । कार्यदिशामाथि अलमल भयो भने संगठनमा भद्रगोल र गतिहिनता पैदा हुन्छ । कार्यदिशा भनेको लक्ष्य भेदनको सुस्पष्ट मार्गचित्र हो । त्यसैको आधारमा कार्ययोजना र कार्यक्रमहरु निर्मित हुने गर्दछन् । त्यसले नै पार्टीमा गति पैदा गर्दछ ।  

यस सन्दर्भमा नेपाली क्रान्तिको नयाँ कार्यदिशाको रुपमा हाम्रो पार्टीले एकीकृत जनक्रान्ति संश्लेषित गरेको छ ।  नेपाली क्रान्तिको कार्यदिशाको बिकासमा यो हाम्रो मौलिक योगदान हो । यसलाई दह्रोसंग पक्रदै सांगठनिक जीवनमा कुशलतापूर्बक अभ्यास गर्ने प्रक्रियाको थालनी भएको छ । यो दिशामा निष्ठापूर्बक होमिएर मात्र हामी नयाँ ढंगको पार्टी निर्माण गर्न सक्नेछौं । 

जनयुद्धको दशकको उत्तरार्ध र खासगरी पछिल्लो दशकमा हाम्रो आन्दोलन कतिपय मामलामा उत्तर माक्र्सवादी दिग्भ्रममा अलमलिदै आएको छ । वर्गको मुद्दा गौण बन्नु र पहिचानको मुद्दा हाबी हुन पुग्नु, हाम्रो भूराजनीतिक संवेदनशीलतालाई ख्यालै नगरी संघीयताको आयातित रुचीको पछि दगुर्नु र त्यसैलाई  उपलब्धिको रुपमा महिमामण्डन गर्नु, अझ जातजातिको नाममा संघीय संरचनाको पूर्पक्ष गर्नु जस्ता विषयहरु हाम्रो निमित्त अनावश्यक मात्रै होइनन्, प्रत्युत्पादक समेत हुने कुरामा ध्यान जान जरुरी छ । यसलाई सच्याउँनै पर्दछ । स्मरणीय छ, विगतमा हामीले उठाएको एजेण्डा जातीय स्वशासनको मुद्दा हो, संघीयता होइन । संघीयता र स्वशासन एउटै कुरा होइन भन्ने स्पष्ट पार्न जरुरी छ । 

२. महान सर्वहारा सांस्कृतिक क्रान्तिलाई प्रस्थानविन्दु बनाउने :

वास्तममा प्रतिक्रान्तिलाई रोक्ने सशक्त औजार भनेको निरन्तर क्रान्ति हो । निरन्तर क्रान्तिले नै दृष्टिकोणको प्रश्नलाई समाधान गर्दछ । यसको निमित्त पार्टीपंक्तिभित्र सर्वहारावर्गीय मूल्य, आचरण र दृष्टिकोण विकास गराउन र नेता कार्यकर्ताको मूल्यांकनको मापदण्डको रुपमा समेत यसलाई स्थापित गर्न जरुरी छ । त्यसैगरी वैचारिक सैद्धान्तिक रुपले जनसमूहलाई प्रशिक्षित गर्ने र जनसमूहको निगरानीमा पार्टी रहने विधिको विकास गर्न जरुरी छ । यो नै महान सर्वहारा साँस्कृतिक क्रान्तिको दृष्टिविन्दु हो । पार्टी निर्माणको प्रस्थानविन्दु यसलाई नबनाई नयाँ ढंगको पार्टी निर्माण सम्भव छैन । यो नै प्रतिक्रान्तिको शिक्षासहितको पार्टी निर्माणको आधार हो । 

जसरी भौतिक जगतमा कुनैपनि वस्तु र परिघटना स्थिर रहँदैनन्, त्यसरी नै मानवीय चेतना पनि स्थिर रहन संम्भव हुँदैन । यो पनि निरन्तर गतिमा नै हुन्छ । निरन्तर क्रान्तिको सिद्धान्त पनि यहि गतिको विज्ञानमा आधारित छ । क्रान्तिकारी बन्ने कुरा एकचोटी बनेर टुंगिने विषय होइन । निरन्तर बन्दै जाने कुरा हो । जहाँनेर यो प्रक्रिया अवरुद्ध हुन्छ, प्रतिक्रान्तिको बिजारोपण त्यहिनेर हुन्छ । त्यसैले पार्टी जीवनमा नेता कार्यकर्ताको मूल्यांकनको मापदण्डको पहिलो आधार यो बन्न जरुरी छ । 

को कति नयाँ र को कति पुरानो भन्ने कुराले सर्वहारा वर्गीय आन्दोलनमा खासै महत्व राख्दैन, मूल कुरा दृष्टिकोण निर्माण र त्यसको आधारमा उसले पु¥याएको योगदान नै हो । यस सन्दर्भमा विचारमा स्वच्छता, आचारमा शुद्धता, दृष्टिकोणमा स्पष्टता, क्षमतामा प्रभावकारिता, काममा लगनशीलता र आर्थिक जीवनमा मितव्ययिता र पारदर्शितालाई विशेष रुपले प्रोत्साहित गरेर लैजान जरुरी छ । महान सर्बहारा साँस्कृतिक क्रान्तिको शिक्षा ग्रहण गर्न हाम्रो पार्टीको आठौं महाधिबेशनले गरेको दिशानिर्देशको मर्म यहिनेर छ ।

३. श्रम सम्बन्ध, आर्थिक उत्पादन र आन्तरिक व्यवस्थापन ः

हाम्रो आन्दोलनमा यो निकै गम्भीर तर उपेक्षित विषय हो । एउटा कम्युनिष्ट क्रान्तिकारीको श्रम सँगको सम्बन्ध र त्यसप्रतिको दृष्टिकोण के हुने ? आर्थिक उत्पादनसँग पार्टी र क्रान्तिको कामलाई कसरी जोड्ने ? पार्टी सञ्चालन र कार्यकर्ता व्यवस्थापनको चन्दामुखी स्रोतको सट्टा उत्पादनमुखी स्रोतको विकास कसरी गर्ने ? यी र यस्ता कैयन प्रश्नहरु छन्, जसलाई हामीले नयाँ शिराबाट उत्तरित गर्नुछ । 

पहिलो कुरा, पार्टीको क्रान्तिकारी चरित्रलाई बरकरार राख्ने विधिको रुपमा पार्टी जीवनलाई श्रम र उत्पादनसँग अभिन्न रुपले जोड्न जरुरी छ । यो विषय पनि पार्टी कामको एउटा महत्वपूर्ण शाखा हो । विगतमा हामीले अभ्यास गरेको जनकम्युनको एउटा अनुभव हामीसँग छ । अब पार्टीको उपल्लो तहबाटै त्यस्तो अभ्यासको सचेत प्रयासमा प्रवेश गर्नु पर्दछ । 

त्यस्ता उत्पादनमुखी परियोजनाहरु विभिन्न स्वरुपमा निर्माण हुन सक्दछन् । त्यस्ता उत्पादन क्याम्पहरु एकातिर श्रमशिविर केन्द्रको रुपमा विकसित हुदै जाने र अर्कोतिर हजारौं बेरोजगार युवाहरुका लागि भर्तिकेन्द्रको माध्यम पनि बन्दै जाने हुन्छ । जसले युवाहरुलाई रोजगार र विचार दुवै प्रदान गर्न सक्छ । अहिलेको नयाँ पुस्ता, जसले राजनीतिप्रति पूर्णतया अरुची राख्दछ र रोजगारीको खोजिमा छटपटिदै विदेश पलायनको बाध्यात्मक बाटो रोज्न पुग्छ, लाई पार्टीमा भर्ति गर्ने उपयुक्त माध्यम यहि नै हुन सक्छ । 

दोस्रो, क्रान्तिकारी आन्दोलनको विकासका लागि हजारौं लाखौ पेशेवर क्रान्तिकारीहरुको उत्पादन अनिवार्य शर्त हो । यस सम्बन्धि विगतको हाम्रो अनुभव त्यति प्रीतिकर छैन । हामीले लाखौं नेता कार्यकर्ता उत्पादन त ग¥यौं तर श्रम र उत्पादनसँग अभिन्न रुपले जोड्ने काममा हामी चुक्यौं । त्यो भन्दा पनि बढी आर्थिक पारदर्शितामा चुक्यौं । लेखा प्रणाली अपनाउन सकेनौं, पार्टीमा जो जति माथिल्लो तहमा छ, त्यसले त्यति नै बढी स्रोत साधनहरु कब्जामा लिने  र आफूखुसी परिचालन गर्ने अवस्था रह्यो । यो स्थितिले पार्टीमा दुईवटा वर्ग जन्माइदियो । अब विगतबाट पाठ सिक्न जरुरी छ । 

हजारौं लाखौ पेशेवर क्रान्तिकारीहरुलाई पार्टी काम र उत्पादन कार्य सँगसँगै जोडेर आत्मनिर्भर बनाउँदै क्रान्तिमा निरन्तर समर्पित भइरहने आधार प्रदान गर्नुपर्दछ । त्यसैगरी पार्टीको नेतृत्वपंक्तिका लागि श्रमशिविरमा सहभागितालाई सुनिश्चित गर्नु अनिवार्य छ । खासखास अवस्थामा पार्टी र क्रान्तिका निमित्त आर्थिक सहयोग संकलनका कार्यक्रम सञ्चालन गर्नुपर्दछ । त्यो पारदर्शी र आन्तरिक लेखा प्रणालीको नियन्त्रणमा हुन जरुरी छ । तर चन्दामुखी मानसिकतालाई पूर्णतया निरुत्साहित गर्नै पर्दछ । 

तेस्रो, आज पार्टीको आन्तरिक व्यवस्थापनलाई नयाँ ढंगले सोच्नुपर्ने भएको छ । नेता कार्यकर्ताको आर्थिक व्यवस्थापनको समस्या निकै गम्भीर छ । आर्थिक व्यवस्थापन सम्बन्धि हामीले गरेको विगतको अभ्यासबाट पाठ सिक्दै नयाँ विधिको विकास गर्न जरुरी छ । विगतको जस्तो एकातिर नेता कार्यकर्तालाई पूर्णतया पार्टीआश्रित बनाउने र अर्कोतिर श्रम र उत्पादनबाट कटाएर आ–आफ्नै तहका शासकमा बदल्ने गल्ती अब दोहो¥याउनु हुन्न । 

पार्टीमा पूर्णकालीन र अंशकालीन दुवै किसिमका क्रान्तिकारीको उचित व्यवस्थापन गर्दै पेशेवर क्रान्तिकारीको रुपमा विकास गर्न विशेष जोड दिनुपर्दछ । पार्टीको चरित्र कस्तो बनाउने भन्ने कुरा यो व्यवस्थापकीय पक्षसँग अभिन्न रुपले जोडिएको छ । 

४. निरन्तर मुल्यांकन र युवा भर्तीमा जोड

युवा उर्जाशील शक्ति हो । सुन्दर जीवनका रुमानी सपना र आकांक्षाहरुले उसलाई जोखिम उठाउन प्रेरित गर्दछन् । यही जोखिम उठाउन सक्ने युवा उर्जालाई क्रान्तिकारी पार्टीले ठीक ढंगले पहिचान र संगठित गरेर नै क्रान्तिको विजयलाई सुनिश्चित गर्दछ । यो शक्ति क्रान्तिको मेरुदण्ड नै हो । सामान्यतया ‘एक’ मा ‘तीन’ को अवधाराणा अनुसार नै पार्टी बनाउने हो । तर पुरानो पुस्ताको ठूलो हिस्सा आन्दोलनबाट थाकेको हाम्रो आजको बिशिष्ट अबस्थामा युवा भर्तीमा जोड दिनु अनिबार्य आबश्यकता बन्न पुगेको छ ।   

पार्टीमा नेता कार्यकर्ताको उचित मूल्यांकनको प्रक्रिया पनि निरन्तर चलाइरहनु पर्दछ । यस सम्बन्धि विगतको हाम्रो अभ्यासमा केही कमजोरी रहे । विगतमा मूल्यांकनको प्रचलित मापदण्डलाई समेत तोडेर कतिपय अबस्थामा नेता विशेषको भजनकीर्तन र चाकडीलाई मुल्यांकनको आधार बनाउने गल्ती पनि भयो । जसले गर्दा छट्टु र चाकडीबाजहरु अगाडि बढ्ने र इमान्दारहरु पछाडि पर्ने स्थिति बन्यो । नेताहरुले पूर्वसमूहको आधारमा, गुटको आधारमा, नातागोताको आधारमा या आफ्नो कोटरीमा भएको आधारमा टुप्पी समातेर माथि तान्ने होडबाजीले पार्टीलाई जहाँ पुर्याउनु थियो, त्यही पुर्यायो । यसलाई निर्ममतापूर्वक सच्याउन जरुरी छ ।

मूल्यांकन सम्बन्धि अर्को बुझाइ के पनि देखिन्छ भने कसैको जन्ममितिको आधारमा, धेरै चप्पल फटाएको आधारमा वा पार्टी सदस्यता प्राप्त गरेको मितिको आधारमा  मूल्यांकनको मापदण्ड खोज्ने । विषयको एउटा पाटो यो पनि हो तर यतिले मात्रै पुग्दैन । मुख्य कुरा दृष्टिकोण निर्माण, साँस्कृतिक रुपान्तरण र त्यसको आधारमा क्रान्तिप्रतिको उसको निरन्तर त्याग, समर्पण र योगदानको कूल योग नै हो । मूल्यांकन सम्बन्धि यो मापदण्डलाई सही ढंगले लागु गरेर मात्रै हामी सच्चा कम्युनिष्ट पार्टी निर्माण गर्न सक्नेछौं । 

अर्को कुरा, हामीकहाँ संगठनमा पदोन्नति भएको वा जिम्मेवारी थपिएको अबस्थालाई मात्र उचित मूल्याङ्कन भएको भन्ठान्ने गलत बुझाइ बिगतदेखि रहदै आएको छ । यसलाई सच्याउनै पर्छ । हामी क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका स्वयंसेवी सिपाही हौं । यो आन्दोलनमा आफ्नो भूमिका निसर्त रुपले पूरा गर्नु हाम्रो दायित्व हो । हामी जुन भूमिकामा रहेपनि आजीवन कम्युनिष्ट नैतिकता र कम्युनिष्ट दृष्टिकोणकासाथ कम्युनिष्ट समाजको असल सदस्य बनेर रहन सक्नु नै प्राथमिक कुरा हो ।

अन्त्यमा, हामी यतिबेला विभिन्न गलत चिन्तन र प्रवृत्तिका विरुद्धको लामो अन्र्तसंघर्षमा विजय हासिल गर्दै र नेपालको कम्युनिष्ट क्रान्तिकारी धारालाई सिध्याउनका लागि भइरहेको भयानक षढयन्त्रबाट पार्टीलाई जोगाउँदै यहाँसम्म आइपुगेका छौं । अब पार्टी निर्माणसँगै क्रान्तिको तयारीको कामलाई समेत व्यवस्थित रुपले अघि बढाउने कष्टसाध्य प्रक्रियामा हामी प्रवेश गरेका छौं । 

खासगरी विचारधारात्मक कामले एउटा फड्को मारिसकेको आजको अबस्थामा क्रान्तिको कामका सम्पूर्ण शाखाहरुलाई सुब्यबस्थित गर्दै गम्भीरतापूर्बक अघि बढ्न जरुरी छ । नयाँ ढंगको पार्टी निर्माणको आधार यही नै हो । र, एकीकृत जनक्रकान्तिको कार्यदिशाले माग गरेको पार्टी निर्माणको मुल मर्म  पनि यही नै हो ।

 

Loading...