ढुकढुकी बढाउँदै अन्तिममा छलाङ मारेर सुनसरीबाट गच्छेदार निर्वाचित

सुनसरी, २७ मंसिर । सुरुदेखि पछाडि परेर सबैले पराजित हुने अनुमान गरेका विजयकुमार गच्छेदार अन्तिममा छलाङ मारेर जितकाे बाजी मारेका छन् । गच्छेदारले वामगठबन्धनकी उम्मेदवार भगवती चाैधरीलार्इ झिनाे मत अन्तरले पराजित गरेका हुन् । 

सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका विजयकुमार गच्छेदार वामगठबन्धनकी भगवती चाैधरीलार्इ ३ सय २१ मतले पराजित गरेर विजयी बनेका छन् । गच्छेदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरी विजयी बनेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी भगवती चाैधरीले ३८ हजार ६ सय ५१ मत पाएकी छन् । एमालेकी नेतृ चाैधरीले मतगणनाकाे सुरुदेखि नै निरन्तर अग्रता लिँदै अाएकी थिइन । उनी गच्छादारसँग तेस्राे पटक पराजित भएकी हुन् । यसअघि २०६४ र ०२०७० सालको संविधान सभाको निर्वाचनमा पनि चौधरी गच्छादारसँग नै चुनाव लडेर पराजित भएकी थिइन । 

गच्छेदार सधै सत्ता राजनीतिमा केन्द्रित हुने नेता मानिन्छन । जुन सरकार बने पनि उनी त्यसमा सहभागी भएर सबैभन्दा बढी मन्त्री हुने नेताका रुपमा उनले अाफूलार्इ स्थापित गरेका छन् । २०६४ सालकाे संविधानसभाकाे निर्वाचनताका कांग्रेस परित्याग गरेर उपेन्द्र यादवकाे मधेशी जनअधिकार फाेरममा प्रवेश गरेका उनले पछि उपेन्द्रलार्इ नै लात मारेर अर्काे पार्टी खाेले । उपेन्द्र यादवबाट अलग भइ उनले बनाएकाे मधेशी जनअधिकार फाेरम (लाेकतान्त्रिक) पार्टी पनि धेरै पटक फुट्याे तर गच्छेदार फेरिइरहने सरकारमा मन्त्री भइरहे । यसपटक प्रतिनिधि सभा र प्रदेशकाे निर्वाचन हुनु केही समय पहिले मात्र उनी साे पार्टीकाे अध्यक्ष पद नै त्यागेर कांग्रेसमा फर्किएका थिए ।

यसपटक कांग्रेसबाट चुनाव लडेका गच्छेदार सुरुदेखि नै पछि परेपछि धेरैकाे अनुमान उनले हार्छन भन्ने थियाे । तर, अन्तिम समयमा अाएर गच्छेदारले फेरि पनि बाजी मारेका छन् । 

 सुनसरी ३ को मगणना सकिएसँगै प्रतिनिधि सभाको १ सय ६५ वटै क्षेत्रको मतगणना सकिएको छ ।

Loading...