मतगणना चल्दै गर्दा विप्लवले दिए यस्तो चेतावनीः अब नयाँ सत्ता विस्तार

काठमाडौं, २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले चुनाव खारेज अभियानको क्रममा अाफ्नो पार्टीका अपील नेतृत्वमा भएका प्रतिरोधका कार्यक्रमलाई अज्ञात समूहले गरेको भनेर गरिएका प्रचारबाजी र टिप्पणीहरु भ्रामक, षड्‍यन्त्रकारी र ध्वंसात्मक भएको बताएका छन् ।

चुनावबारे पार्टीको अाधिकारिक धारणा सार्वजनिक गर्न शनिबार साँझ जारी गरेको विज्ञप्तिमा विप्लवले भनेका छन्, ”कतिपय सञ्चार माध्यमले बम पड्काएर जिम्मा नलिने अनैतिक कार्य भएकोले राज्यले दमन गर्नुपर्ने भनिरहेका छन् । राज्य र सञ्चारमाध्यमहरुले ‘अज्ञात समूहको बम हमला’ भनेर प्रचार गरेको भन्दै यी सबै घरेलु प्रचारबाजी र टिप्पणीहरु भ्रामक, षड्यन्त्रकारी र ध्वंसात्मक हुन् ।” उनले यस्ता प्रचारको पछाडि जनयुद्धलाई अातंककारी, विध्वंसकारी, फासिवादी दोषारोपण गर्ने प्रवृत्ति र मनसाय निहित भएको बताए ।

विप्लवले अाफ्नो पार्टीले संसदीय चुनावलाई सम्पूर्ण रुप र तरिकाले प्रतिरोध तथा खारेज गर्न अपिल गरिसकेपछि प्रतिरोध संघर्षका कार्यक्रम भएका भन्दै विप्लवले प्रश्न गरे, ”प्रतिरोध संघर्षहरु जनुसुकै किन र कसरी अज्ञात, विध्वंसात्मक र अनैतिक भए ?” उनले खुलामखुला रुपमा संचालन गरेका क्रान्तिका श्रृङ्खला भएको बताए । विप्लवले जानजान भ्रमपूर्ण बनाउन खोजेको दाबी समेत विज्ञप्तिमा गरेका छन् ।

विज्ञप्तिमा महासचिव विप्लवले पार्टीको चुनाव खारेज अभियानलाई अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रियाको खण्डन गरेका छन् । उनले लोकतन्त्र र जनताको मताधिकामाथि हस्तक्षेप भन्ने प्रतिक्रिया अाएको भन्दै चुनाव खारेज अभिायन संचालन गर्नु सच्चा लोकतन्त्र र मताधिकार भएको पार्टीको धारणा भएको बताएका छन् ।

त्यसैगरी विप्लवले नेपालमा दुई सत्ता र दुई सरकारको रहेको बताउँदै आउँदा दिनहरुमा एउटा पुरानो संसदीय सत्तालाई नयाँसत्ताले विस्थापित गर्ने तथा नयाँसत्ता विस्तार र सुदृढ हुने कुरामा कुनै शंका नभएको बताए ।

“हाम्रो अाफ्नो पार्टीले प्रतिक्रान्तिकारी संसदीय चुनावलाई खारेज गर्ने निर्णय लिएदेखि खारेज अभियान सञ्चालन गर्दासम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय हिस्सामा केही भ्रम र पूर्वाग्रह पनि देखिन खोज्यो । केही अन्तर्राष्ट्रिय समुदायले हाम्रो चुनाव खारेज अभियानलाई लोकतन्त्र र जनताको मतदान अधिकारमाथि हस्तक्षेप भन्ने प्रतिक्रिया व्यक्त गरेका छन् । हाम्रो पार्टीको स्पष्ट धारणा छ कि चुनाव खारेज अभियान सच्चा लोकतन्त्र र मताधिकारका लागि हो” विज्ञप्तिमा भनिएको छ ।

Loading...