दैनिक ब्रस नगर्नेहरुमा फुड पाइप क्यान्सरको ठूलो खतरा

आजभोलि धेरै मानिसको दैनिकी दाँत ब्रस गरेर सुरु हुन्छ । तर, नेपालका ग्रामीण भेगका कतिपय मानिसमा भने दाँत ब्रस गर्ने संस्कार अझ पनि छैन । यद्यपि, दाँतलाई चम्किलो बनाउन र किराले खानबाट बचाउनका लागि दाँत माझ्ने धेरैको बुझाइ छ । तर, हालै भएको एक खोजले दाँत ब्रस नगर्दा हुने गम्भीर रोगबारे पत्ता लगाएको छ ।

यदि दाँत नमाझ्ने हो भने मुखमा उत्पन्न हुने ब्याक्टेरिया फुड पाइपमा पुग्छ र फुड पाइप क्यान्सरको खतरा बढ्दै जान्छ । न्युयोर्क युनिभर्सिटीअन्तर्गतको मेडिसिन विभागका प्रोफेसरहरूले गरेको खोजअनुसार दाँतमा लाग्ने ब्याक्टेरियाले क्याबिटी र माइक्रोबायोटा (सूक्ष्म जीवको समूह) निर्माण गर्छ । ती जीवाणु फुड पाइप क्यान्सरका लागि निकै खतरनाक मानिन्छ । अनि मानिसमा फुड पाइप क्यान्सर लाग्न सक्छ ।

के हो फुड पाइप क्यान्सर ?

अनुसन्धानले भनेको छ कि फुड पाइपको क्यान्सर आठौँ सामान्य क्यान्सर हो । क्यान्सरबाट मृत्यु हुनेमध्ये छैटौँ स्थानमा यस क्यान्सरबाट मृत्यु हुनेको संख्या छ । खतरनाक स्टेजमा नपुगुन्जेल यस क्यान्सरबारे मान्छेलाई पत्तै हुँदैन । यो क्यान्सर लागेपछि मानिस पाँच वर्ष बाँच्ने सम्भावनासमेत १५ देखि २५ प्रतिशतसम्म मात्र हुन्छ । यो निकै घातक क्यान्सर भएको प्रोफेसरहरूले बताएका छन् ।

Loading...