मुगाबेलाई विस्थापित गरेर आएका जिम्बाबेका नयाँ राष्ट्रपतिले मन्त्रिपरिषद् सानो बनाउने

एजेन्सी । जिम्बाबेका नयाँ राष्ट्रपति इम्मेर्सन मनान्गाग्वाले आफ्नो मन्त्रिपरिषद् सानो बनाउने बताएका छन् ।

स्थायी सचिवहरू र उच्च सरकारी अधिकारीहरूसँगको पहिलो अन्तरक्रिया कार्यक्रममा बुधबार राष्ट्रपति मनान्गाग्वाले मन्त्रिपरिषद् सानो बनाउने बताएका हुन् ।

उनले आफ्नो मन्त्रिपरिषद्ले अति कडाईका साथ काम गर्ने, जनतालाई सेवा दिने र प्रभावकारी व्यवहार गर्ने अठोट पनि गरेका छन् ।

“मेरो सरकारले कुनै पनि सरकारी कर्मचारीलाई अल्छी हुन वा ठगठाग गर्न छुट दिनेछैन, घुमाउरो र झण्झटीलो प्रक्रियामा पनि झुलाउन पाइने छैन, गम्भीरतापूर्वक आम नागरिकलाई सेवा नदिनेलाई कुनै क्षमा हुने छैन,” उनले भने ।

राष्ट्रपति मनान्गाग्वाले जोड दिँदै भने, “हाम्रो मन्त्र यही हुनेछ, उच्चस्तरको प्रस्तुती, उच्चस्तरको प्रस्तुती ।”

यसअघिका राष्ट्रपति रोबर्ट मुगाबेको मन्त्रिपरिषद्मा २५ भन्दा बढी मन्त्री भएकाले अहिले उहाँले त्यो भन्दा धेरै सानो बनाउने बताएका हुन् ।

गत ३७ वर्षदेखि शासन गर्दै आउनु भएका निवर्तमान राष्ट्रपति मुगाबेले नाटकीय तरिकाले राजीनामा दिन बाध्य भएपछि मनान्गाग्वाले गत शुक्रबार राष्ट्रपतिको पदबहाली गरेका थिए ।

मुगाबेलाई सेना र सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएर राजीनामा दिन बाध्य पारेका हुन् भने जिम्बाबेमा नयाँ लोकतान्त्रिक युग शुरु हुन लागेको दाबी गरिएको छ ।

पचहत्तर वर्षीय इम्मेर्सनले देशलाई आश्चर्यजनक रूपमा पूर्ण लोकतान्त्रिक मुलुक बनाउने अठोट गर्दै आएका छन् ।

Loading...