शान्तिसम्झौता गरेर पार्टीलाई सकिनबाट जोगाए

काठमाडौं, ३ असार । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्तिसम्झौता गरेर आफूले माओवादी पार्टीलाई सकिनबाट जोगाएको बताएका छन ।’
शान्ति सम्झौतामार्फत शान्तिपूर्ण राजनीतिको मूलधारमा नआएर काठमाडौं कब्जा गर्ने रणनीतिमै लागिरहेको भए पार्टी सकिने अवस्थामा पुग्ने स्थिति रहेको दावी पनि दाहालले गरेका छन । आजको अन्नपूर्ण पोष्टमा दाहालले प्रश्न गर्दै भनेका छन, “राष्ट्र, जनता, क्रान्ति र पार्टी बचाउन क्रान्तिको रुप बदल्नु मेरो अपराध हो ? हामीले गल्तीदेखि नडराउँदा राम्रा र नराम्रा दुवै गर्नुपर्यो।”
सहिद विष्णुदेव भट्टराई स्मृति दिवस आयोजक समितिद्वारा सोमबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा बोल्दै दाहालले भने,“मैले शान्तिसम्झौताका माध्यमबाट पार्टीलाई सकिनबाट बचाएको छु। सम्झौता नगर्ने, पुरानो संरचना ध्वस्त नपार्दासम्म लडिराख्ने र काठमाडौं कब्जा नगर्दासम्म लडिराख्ने हो भने पार्टी, नेतृत्व, कार्यकर्ता र जनता सकिएको पेरुको जस्तै हुँदैनथ्यो भन्ने ग्यारेन्टी भएन।”
दाहालले आफ्नो कदम सही भएको पुष्टि गर्न अरु देशको उदाहरण पनि दिएका छन । वस्तुगत परिस्थितिको सही मूल्यांकन गर्न नसकेका कारण पेरु, टर्की, भारत, श्रीलंका, बर्मालगायतका मुलुकमा भएका क्रान्ति र विद्रोह असफल भएको र पार्टी सकिएको उनको दावी छ । उनले भनेका छन, “हामीले १० वर्ष लडेपछि कार्यनीतिक बाटो नबदलेको भए अर्को १५(२० हजार मर्ने बेलासम्म क्रान्ति टिकाउन सक्थ्यौं। तर, झन् ठूलो क्षति हुन्थ्यो। त्यही भएर क्रान्तिलाई सन्तुलित बाटोमा मोडेका हौं।“
आफूले गल्तीबाट पाठ सिकेको बताउँदै दाहालले पछुताउ पनि गरेका छन । दाहालले आफूप्रति विश्वास नभए नेतृत्व गर्ने साहस गरेर आउन चुनौती दिँदै त्यसरी आउनेलाई सलाम ठोक्ने बताए ।
“क्रान्तिका लागि इमानदारीपूर्वक त्याग गर्न तयार छु भनेपछि पनि जनतामा भ्रम छ। मैले छोडेर विगतमा भएका कमजोरीको क्षतिपूर्ति हुन्छ भने मलाई नेतृत्वमा बसिराख्ने रुचि छैन । कि त विश्वास गर्नुस्, मेरो विश्वास छैन भने छोड्न तयार छु ।”,
बेपत्ता योद्धाको भूमिका, योगदान र वर्तमानमा हाम्रो कार्यभार’ विषयक विचार गोष्ठीमा दाहालले सो कुरा बताएका हुन ।

Loading...