सिमिटकोट विमान दुर्घटनाको थप अपडेट : टाउकोमा गम्भीर चोट लागेका सुरक्षाकर्मीलार्इ नेपालगञ्ज लगियो

हुम्ला, १२ मंसिर । हुम्लाकाे सदरमुकाम सिमिकाेटमा दुर्घटना परेकाे बिमानमा रहेका ६ जना गम्भीर घाइते भएका छन् । तारा एयरको ‘नाइन–एनएबिएम’ कलसाइनको ट्वीनअटर विमान सिमकोट विमानस्थलमा आज बिहान उडान भर्ने बित्तिकै दुर्घटनामा परेको थियाे ।

विमानमा चालकदलका तीनजना र १३ जना सुरक्षाकर्मी थिए । उनीहरूमध्ये चालकदलका तीनसहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये नेपाल प्रहरीका एकजना असर्इकाे अवस्था गम्भीर छ ।

दुर्घटनाग्रस्त तारा एयरमा सवार गम्भीर घाइते प्रहरी सहायक निरीक्षक यमबहादुर दाहाललाई नेपालगन्ज रिफर गरिएको छ । टाउकोमा गम्भीर चोट लागेका सहायक निरीक्षक दाहाललाई नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि नेपालगन्ज लगिएको हो ।

चालकदलका सदस्यहरू क्याप्टेन अमृत गुरुङ र वसन्त लामा तथा परिचारिका श्रेया श्रेष्ठ सामान्य घाइते भएका छन् ।

प्रहरी जवानहरू हस्तबहादुर सिंह र किशोर ऐरी पनि सामान्य घाइते भएका छन् । उनीहरू सबैको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

निर्वाचनमा खटिएका सुरक्षाकर्मी लिएर सिमकोटबाट नेपालगन्जका लागि उडेको विमान उडान भर्ने बित्तिकै दुर्घटनामा परेको हो । विमानस्थलबाट करिब एक सयमिटरको दूरीमा ट्वीनअटर खसेको छ ।

Loading...