ट्रककाे ठक्करबाट तीन जनाकाे मृत्यु

काठमाडाैं, ११ मंसिर । कपिलबस्तु र चितवनमा भएका सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

कपिलबस्तुको बाणगंगा नगरपालिका–२ पिपरामा ना.२ ख ९९२९ नम्बरको ट्रकले लु. १६ प ५२०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रुपन्देही सैनामैना नगरपालिका वडा नं. १ पर्रोवाका १८ वर्षीय राजेश थारु र २० वर्षीय प्रेम थारु रहेका इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको प्रहरीले जनाएको छ।

यस्तै चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। भैँसी बोकेर रौतहटको गौरबाट काठमाडौँ जाँदै गरेको ना.५ ख २५६६ नम्बरको ट्रकले ठक्करदिंदा करिब ५० बर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको सनाखत हुन सकेको छैन। शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ। ट्रक र चालकलाई प्रहरी चौकी सिमलतालले नियन्त्रणमा लिएको छ।

Loading...