कालिकोटको मालकोटमा दाेहाेराे गाेली हानाहान

कालिकाेट, १० मंसिर । कालिकाेटकाे माल्काेटमा दाेहाेराे गाेली हानाहान भएकाे छ । मालकाेटकाे नन्दादेवी मावि सेरापाटा नजिकै गाेली हानाहान भएकाे हाे । 

केही दिनदेखि निकै तनावग्रस्त बनेकाे साे ठाउँमा अाज मतदानका दिन प्रहरी र केही अन्य व्यक्तिहरुबीच गाेली हानाहान नै भएकाे बताइएकाे छ। प्रहरीसँग गाेली हानाहान कसले गरेकाे हाे भन्नेबारे केही एकिन नभएकाे तर साे ठाउँमा गाेली हानाहान भएकाे सदरमुकाम मान्ममा रहेका एक पत्रकारले जानकारी दिए । उनले जिल्लामा अाज बिहानैदेखि वम विष्फाेट र गाेली प्रहार भएका समाचार अाइरहेकाे पनि बताए । 

मालकाेटकाे सल्लारुख गाउँ नजिकै रहेकाे मतदान केन्द्रतर्फ लक्षित गरी केही व्यक्तिले अत्याधुनिक अटाेमेटिक हतियारले गाेली चलाएकाे प्रहरीले जनाएकाे छ । आइतबार बिहान मतदान सुरु भएको केही समयपछि ९ बजेतिर गाेली चलाइएकाे बताइएकाे छ । त्यसकाे जवाफ स्वरुप प्रहरीले पनि त्यसतर्फ फायर गरेकाे थियाे । त्यसपछि केहीबेर दुबैतर्फबाट गाेली हानाहान र दाेहाेराे भिडन्त भएकाे थियाे । प्रहरीले अज्ञात समूहले सेल्फ लाेडिङ राइफलबाट गाेली चलाइएकाे जानकारी दिएकाे छ । 

साे क्रममा प्रहरीले २५ राउण्ड गोली चलाएको बताइएकाे छ । एक स्थानीयवासीले प्रहरीले भन्दा अर्काेतर्फबाट बढी गाेली चलेकाे बताए । 

यसघि मलकोटमा शनिबार राती पनि दोहोरो गोली हानाहान भएकाे थियाे । साथै प्रहरीले सल्लारुख गाउँ र त्यस अासपासका गाउँमा घेरा हालेर सर्च अभियान पनि चलाएकाे थियाे ।

निरन्तर झडप भइरहेपछि त्यस ठाउँमा अाजमात्र निर्वाचन सामाग्री र निर्वाचन टाेली पुगेकाे थियाे । सेनाकाे हवार्इ गस्तीसहित प्रहरीकाे कडा सुरक्षाकाबीच कर्मचारी र निर्वाचन सामाग्री त्यहाँ पुर्याइएका थिए ।

गत स्थानीय तहकाे निर्वाचनमा पनि मालकाेटकाे नन्दादेवी मावि सेरापाटामा झडप भएकाे थियाे । झडपमा परी एक जनाकाे मृत्यु हुनुका साथै दुर्इ जना घाइते भएका थिए । त्यतिबेला मतदान सकिएपछि झडप भएकाे थियाे भने यसपटक मतदान सुरु हुने बित्तिकै गाेली हानाहानसहितकाे भिडन्त भएकाे हाे ।

कालिकाेटका अन्य ठाउँमा पनि गए राती र अाज दिउसाे पनि वम विष्फाेटका घटना भएका छन । शनिबार राती मात्र कालिकोटको मुम्रास्थित क्यूरी मतदान केन्द्रमा राती भिडन्त भएको थियो । क्यूरी मतदान केन्द्रलार्इ नेपाल कम्युनिस्ट पार्टी समर्थित कार्यकर्ता र स्थानीयले केही समय नियन्त्रणमा समेत लिएका थिए । मतदान केन्द्रलार्इ नियन्त्रणमा लिइ उनीहरुले निर्वाचन सामाग्री नष्ट पनि गरेका थिए । मतदान केन्द्रमा रहेकाे निर्वाचन टाेली र प्रहरीकाे टाेली भिडन्त भएपछि भागेकाे थियाे । साे क्रममा प्रहरी सर्इ र हवल्दार तथा दुर्इ जना स्थानीय घाइते भएका थिए । 

राती ९ बजे देखि १२ बजेसम्म भएको भिडन्तपछि स्थानीयले मतदान केन्द्रको सम्पूर्ण निर्वाचन सामाग्री कब्जा गरेर बुथ खाली गरेका थिए ।यस्तै शनिबार दिउसो कालिकोटकै पलाता गाउँपालिकाको डाफे मतदान केन्द्रका लागी गएको कर्मचारी र सुरक्षाकर्मीहरुको टोलीलाई स्थानीयले ढुंगामुडा गरेर लखेटेपछि नेपाली सेनाको हेलिकप्टरले हवाई फायरिङ गरेको थियो ।

त्यस्तै कालिकाेटकै मेहलमुडीमा अाज बिहान प्रहरीले दर्जनाै राउण्ड हवाइ फायर गरेकाे थियाे । त्यसपछि उक्त क्षेत्रमा ३ वटा हेलिकप्टर मार्फत थप सुरक्षाकर्मी र कर्मचारी उतारेको थियो भने भागेका कर्मचारी र प्रहरीलाई शनिबार हेलिकप्टर मार्फत नै सदरमुकाम फिर्ता लिएको थियो ।

Loading...