संविधानसभामा संसदीय व्यवस्थाको आलोचना र समर्थन

काठमाडौं, २ असार । संविधानसभामा आगामी संविधानमा कुन शासकीय स्वरुप अपनाउने भन्ने विषयमा छलफल भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीमध्ये राष्ट्रप्रमुख को हुने तथा प्रधानमन्त्री र राष्ट्रपतिको चयन कसरी गर्ने भन्ने विषयमा सभासद्हरुले आ–आफ्ना दलीय अडान अनुसारका धारणा राखेका हुन् ।

संविधानसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सभासद्ले संसदीय व्यवस्था नै सबैभन्दा राम्रो भएको दाबी गरे । त्यसैगरी नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेशवादी दलका सभासद्ले मुलुकको राजनीति अस्थीर हुनुको मुख्य कारण संसदीय व्यवस्था भएको दावी प्रस्तुत गरे ।

सभामा बोल्दै नेपाली कांग्रेसका सभासद् रमेश लेखकले संसदीय व्यवस्थामा रहेका कमजोरी सुधार गर्ने धेरै उपाय रहेकाले त्यसको विकल्पबारे सोच्न नहुने बताए । उनले संसद्बाट प्रधानमन्त्री चुन्नुको सट्टा जनताबाट सिधै प्रधानमन्त्री चुनिए त्यसले निरङकुशता सिर्जना हुने दावी गरे ।

सोही क्रममा आफ्ना धारणा राखेका नेकपा एमालेका सभासद् रविन्द्र अधिकारीले भने संसदीय व्यवस्था असफल भइसकेकाले फेरि त्यतातिर फर्कनु मुलुकको हितमा नहुने दावी गरे । उनले मुलुकको राजनीतिलाई स्थिर बनाउन जनताले सिधै प्रधानमन्त्रीको चयन गर्न पाउनुपर्ने माग गरे ।

त्यसैगरी सभामा बोल्दै एकीकृत नेकपा माओवादीका सभासद् अग्निप्रसाद सापकोटा र मधेशी जनअधिकार फोरम नेपालका सभासद् उपेन्द्र यादवले जनताको परिवर्तनको चाहना पूरा गर्न राष्ट्रपति शासन लागू गरिनुपर्नेमा जोड दिए । कार्यकारी अधिकारसहितको राष्ट्रपतीय व्यवस्थामा मात्र मुलुकलाई आर्थिक सामाजिकरुपमा सम्पन्न बनाउन सकिने उनीहरुको धारणा थियो ।

Loading...