यी हुन घातक खाद्य पदार्थ । भुलेर पनि प्रयोग नगर्न डाक्टरको सल्लाह

डा. उमा कोइराला, पोषणविद्

कोल्डड्रिंक्स
जाडो वा गर्मी दुवै समयका लागि बजारमा प्रशस्त कोल्डड्रिंक्सहरू उपलब्ध छन् । जस्तै– कोकाकोला, फेन्टा, स्प्राइट, रेडबुल आदि । यस्ता पेय पदार्थ पिउँदा स्वादिलो लागे तापनि स्वास्थ्यलाई भने गम्भीर असर पुर्‍याइरहेको हुन्छ । यसमा सुगरको मात्रा अत्यधिक हुन्छ र विभिन्न खालका हानिकारक केमिकलको पनि प्रयोग हुन्छ । जसले शरीरमा ग्लुकोजको मात्रा बढाउँदै लान्छ । यस्ता पेय पदार्थले किड्नी ड्यामेज हुने, सुगर, बोसो बढाउनेलगायतका समस्या निम्त्याउँछ ।

केक

विशेषगरी सहरिया क्षेत्रमा केक संस्कृति मौलाएको छ । केक काटेर जन्मदिन मनाउने प्रचलन पनि अत्यधिक छ । तर, यसले हाम्रो शरीरमा कति असर गर्छ भन्नेबारे भने अनभिज्ञजस्तै छौँ । केकमा चिल्लोको मात्रा अत्यधिक हुन्छ । मैदाबाट केक बन्ने गर्छ, जसले हाम्रो शरीरलाई कुनै पनि फाइदा पु¥याउँदैन । केकले मोटोपन, उच्च रक्तचाप, मधुमेहलगायतका समस्या सृजना गर्दछ ।

चाउचाउ

खाजाको रूपमा चाउचाउ प्रयोग गर्ने मानिसको संख्या ठूलो छ । कतिपयले त चाउचाउबाटै छाक टारिरहेका हुन्छन् । बालकदेखि वृद्धसम्मका लागि प्रिय खाना बनेको छ, चाउचाउ । तर, चाउचाउले पनि हाम्रो शरीरलाई कुनै फाइदा पुर्‍याउँदैन । यसमा भएको सेतो पिठोले स्वास्थ्यमा असर पु¥याउँछ । चाउचाउ प्रयोग गर्ने बच्चामा पौष्टिक तत्वको कमी हुन्छ । खानैपरे सिजनल तरकारी र सागपात प्रयोग गरेर खाँदा उत्तम हुन्छ ।

आलु चिप्स, भुजिया

आलु चिप्सले पेट भर्नेबाहेक अरू कुनै फाइदा गर्दैन । आलु चिप्स, भुजियालगायतका खानेकुराबाट कुनै पनि पौष्टिक तत्व प्राप्त हुँदैन । तर, यस्ता खाद्य पदार्थ स्वादिलो हुन्छ र खाइरहुँझैँ लाग्छ । यसले बच्चाको वृद्धिविकास रोकिन्छ, स्नायु तत्वलाई बलियो हुन दिँदैन र विभिन्न रोग लाग्न सक्छ । आलु चिप्स, भुजियालगायतका खाद्य पदार्थ नखाँदा नै उपयुक्त हुन्छ ।

फ्रेन्च फ्राई

धेरै मानिसको रोजाइमा पर्ने अर्को खाद्य पदार्थ हो, ‘फ्रेन्च फ्राई’ । तर, यो पनि मानिसले खान नहुनेमध्येको एक खाद्य पदार्थ हो । त्यो किनभने यसमा क्यालोरीको मात्रा बढी हुन्छ । पटक–पटक फ्राई गरेर तयार पारिने भएकाले पनि यो हानिकारक खाद्य पदार्थ हो । प्रशस्त चिल्लो, बोइलिङ पोइन्टभन्दा माथि पुगेपछि गरेको फ्राईले फिङ्गर चिप्स, फ्रेन्च फ्राईजस्ता खाद्य पदार्थ हाम्रो शरीरका लागि अत्यन्तै हानिकारक मानिन्छ ।

Loading...