आइसिसी टी–२० विश्वकपमा वर्षाका कारण नेपाल अङ्क बाँड्न बाध्य

काठमाडाैं । आइसिसी टी–२० महिला विश्वकपअन्तर्गत एसियन छनोटमा सोमबार खेल वर्षा बाधक बनेपछि नेपाल थाइल्यान्डसँग अंक बाँडेको छ । बैंककस्थित टेडथाई क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन बनायो । प्रत्युत्तरमा नेपालले ३.४ ओभरमा १० रन जोड्दा वर्षा भएपछि खेल बराबरीमा टुंगियो । लगातार दुईघन्टा वर्षा भएपछि अम्पायरले नेपाल र थाइल्यान्डलाई एक–एक अंक प्रदान गरेका हुन् । प्रतियोगिताको अन्तिम दुईमा स्थान बनाउने राष्ट्रले मात्र ‘ग्लोबल’ छनोटमा स्थान बनाउने भएकाले नेपाल र थाइल्यान्डमाथि दबाव बढेको छ ।

थाइल्यान्डले दिएको ९१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले गतिलो सुरुवात गरेको थियो । निरन्तर वर्षा भएपछि खेल सम्भव भएन । नेपाल थाइल्यान्डसँग अंक बाँड्न बाध्य भयो । नेपालका लागि ज्योति पाण्डेले पाँच बलमा चार रन तथा सरिता मगरले १७ बलमा पाँच रन बनाएर क्रिजमा थिए ।

पहिलो ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर ९० रन बनाउँदै मध्यम स्कोर बनायो । थाइल्यान्डकी नटाकन चान्टमले १८ बलमा दुई चौकाको मद्दतमा १८ रन जोडिन् । यसैगरी, नरेउमोल चाइवाईले ३७ बलमा २३ रनको अविजित इनिङ खेलिन् । सुटिङाले अविजित १३ रन बनाइन् । सुरुवात राम्रो भए पनि थाइल्यान्डको मध्यक्रम सम्हालिन नसक्दा सय रन पनि कटाउन सकेन । घरेलु चार खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन् । नेपालका लागि सरिता मगरले दुई विकेट लिएकी थिइन् । कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले एक–एक विकेट लिए । अर्को खेलमा हङकङले मलेसियालाई ३५ रनले हरायो । युएईले चीनलाई १६ रनले पराजित ग¥यो ।

प्रतियोगिताको दोस्रो खेलमा नेपाल मंगलबार दाबेदार हङकङविरुद्ध प्रतिस्पर्धा गर्दै छ । हङकङले पहिलो खेलमा मलेसियालाई ३५ रनले हराएको छ । पहिलो खेलमै अंक बाँडेको नेपालसमक्ष छनोट चरणको दोस्रो स्थान आशा जीवित बनाउन हङकङविरुद्ध स्पष्ट जित निकाल्नुपर्ने चुनौती रहेको छ । हङकङलाई हराउँदा नेपाललाई केही सहज हुने छ ।

Loading...