स्थानीय तहमा २२५ अर्ब पठाइसकियो : योजना आयोग

काठमाडौ, २६ कार्तिक । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले सरकारले स्थानीय तहमा विकासका लागि २२५ अर्ब पठाएको जानकारी गराएका छन् ।

नागार्जुन नगरपालिका रामकोट–६ स्थित नारायण पोखरेल प्रतिष्ठानको १० औँ साधारणसभा र महाधिवेशनमा उनले केन्द्रका धेरै योजना घटाएर स्थानीयमा तहमा बजेट पठाइएको बताए । उनले भने, “अहिले पठाइएको बजेट पर्याप्त नभए पनि हामीले धेरै नै पठाएका छौँ, विकासको क्रम बढेसँगै भविष्यमा जाने बजेट पनि बढ्दै जाने छ ।”

नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले प्रतिष्ठानको विकासका लागि यस वर्ष २५ लाख विनियोजन गरिएको जानकारी दिँदै प्रतिष्ठानले निर्माण गर्ने बद्रीनारायण धामका लागि आगामी दिनमा सहयोग रकम बढाइने र सीतापाइलाबाट रामकोट पुग्ने बाटो छ महिनाभित्रै कालोपत्र गर्ने वचन दिए ।

पोखरेल प्रतिष्ठानका अध्यक्ष दीनबन्धु पोखरेलले अध्यात्मलाई छोडेर भौतिकता मात्र प्राथमिकता दिने परिपाटीले अनुशासन हट्दै एकार्कामा दूरी बढाएको बताउँदै मानिसमा काम र दाम भए पनि नाम, आराम र राम छुट्दै गएको भनी चिन्ता व्यक्त गरे । 

वाग्लेले सामुदायिक विद्यालयमा भर्ना दर एकदमै राम्रो छ तर शिक्षामा गुुणस्तर वृद्धि हुन सकिरहेको छैन, अब गुुणस्तरमा ध्यान दिने र लगानी बढाउनुपर्ने समय आइसकेको जानकारी दिए । युलेन्स स्कुल सञ्चालक समितिका अध्यक्ष डा आरजु देउवाले विद्यालयले अन्तर्राष्ट्रियस्तरको शिक्षा उपलब्ध गराउने सपना १० वर्षभित्रै पूरा गरेकामा खुशी व्यक्त गरे ।

युलेन्स फाउन्डेसनका संरक्षक बेल्जियमका समाजसेवी गाययुलेन्स र श्रीमती मरियम युुलेन्सको पनि उपस्थिति थियो । संरक्षक गाययुलेन्सले नेपालमा कृषिसम्बन्धी शिक्षाको आवश्यकता रहेको भन्दै नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको अनुभव सुनाए ।

प्रा डा शर्माले आफ्नो पाँच दशक लामो शिक्षा क्षेत्रको यात्रा स्मरण गर्दै आउने दिनमा शिक्षा क्षेत्रको विकास र सुधारमा लागिरहने दृढता व्यक्त गरे । एघार वर्षअघि स्थापित युुलेन्स स्कुलमा अहिले ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

Loading...