कांग्रेसको सभामा प्रमुख अतिथि बन्न सप्तरी पुगेका पर्यटन मन्त्रीलाई आयोगको २४ घन्टे स्पष्टिकरण

काठमाडौँ, २५ कार्तिक । पर्यटन मन्त्री जीतेन्द्रनारायण देव स्पष्टिकरणमा परेका छन् । उनलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको हो । मधेशमा आयोजना गरिएको एउटा कार्यक्रममा प्रमुख अतिथि बनेका मन्त्री देव आयोगको स्पष्टिकरणमा परेपछि अक्क न बक्क भएका छन् ।

निर्वाचन आयोगले उनलाई प्रमुख अतिथि बनेका कारण स्पष्टिकरण भने सोधेको होइन । उनले सरकारी सवारी साधनको दुरुपयोग गरेको पत्ता लगाएपछि स्पष्टिकरण सोधेको हो । मन्त्री देवले राजधानीबाट सरकारी सवारी साधनको दुरूपयोग गरी सप्तरीमा पार्टीको कार्यक्रममा पुगेका थिए । सप्तरीको एक सार्वजनिक विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा उनी प्रमुख अतिथि बनेर गएका थिए ।

नेपाली काँग्रेसको चुनावीसभामा प्रमुख अतिथिका रूपमा उनलाई बोलाइएको थियो । उनी प्रमुख अतिथि बन्न पाएपछि निर्वाचन आचारसंहिताको ख्याल नै नगरी सप्तरी पुगेका थिए ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत किन कारबाही नहुनुपर्ने हो भनी मन्त्री देवसँग २४ घण्टे स्पष्टीकरण माग गरेको जानकारी दिए ।

आयोगले काँग्रेस सप्तरीका सभापति एवं नेपाली काँग्रेसका तर्फबाट सप्तरी जिल्ला क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिनेशकुमार यादवलाई सार्वजनिक विद्यालय परिसरमा चुनावीसभा तथा भोजभतेरको आयोजना गरेको भनी २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्ने निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत किन कारबाही नहुनुपर्ने हो भनी यादवसँग स्पष्टीकरण माग गरिएको जनाइएको छ ।

सभापति यादवलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ, “निर्वाचन आचारसंहिता लागू भइरहेका अवस्थामा सार्वजनिक विद्यालय परिसरमा चुनावीसभा तथा भोजभतेर आयोजना गरिएको कार्य निर्वाचन आचारसंहिताविपरीत भएको देखिँदा निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत तपाईंलाई कारबाही किन नहुनुपर्ने हो ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरिन्छ ।”

आयोगले सप्तरीको खुरहुरियास्थित जनता माविका प्रअ सूर्यनारायण यादवलाई पनि सार्वजनिक विद्यालय परिसरमा चुनावीसभा तथा भोजभतेरको आयोजना गरिनु निर्वाचन आचारसंहिता विपरीत देखिएको जनाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको छ ।

Loading...