भारतीय गाडीका कारण सडक, पुलपुलेसा र नेपाली व्यवसायी धरासायी हुँदै, सरकार मौन

रुपन्देही, २६ कार्तिक । यातायात व्यवसायीले नेपालमा निर्वाध रुपमा चलिरहेका भारतीय गाडीहरुलाई नियमन गर्न सरकारसँग माग गरेका छन् । अत्यधिक भार बोकेका भारतीय गाडीका कारण नेपालका सडक, पुलपुलेसाहरु भत्कने र दुर्घटना बढ्ने गरेको नेपाली व्यवसायीले बताएका छन् । ठूला भार बोकेका भारतीय गाडीहरुलाई निर्बाधरुपमा छुट दिँदा नेपाली गाडीले काम नपाई व्यवसायी बैंकको व्याज तिर्न नसक्ने अवस्थामा पुगेको पनि उनीहरूको भनाइ छ । यस्तो अवस्थामा पनि सरकार यस विषयमा मौन रहेको भन्दै व्यवसायीले आक्रोश पनि व्यक्त गरेका छन् ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा आयोजित १८ औँ वार्षिक साधारणसभामा व्यवसायीहरुले सो माग गरेका हुन् । उनीहरूले राज्यले स्पष्ट नीति नल्याउँदासम्म यातायात व्यवसाय फस्टाउन नसक्ने गुनासो गरे । स्पष्ट कानून तथा नीति नभएकाले यातायात क्षेत्रले समस्या भोग्दै आएको भन्दै यसतर्फ ध्यान दिन सरकारसँग माग गरे ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले यातायात सेवासम्बन्धी विधि र नीतिनिर्माण गर्न महासंघले प्रतिबद्ध भएर राज्यसँग पहल गरिरहेको बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष हीरालाल श्रेष्ठले हरेक क्षेत्रका व्यवसायीका समस्या समाधान गर्ने दायित्व राज्यको भए पनि उनसले आफ्नो दायित्वलाई पूरा गर्न नसकेको आरोप लगाए । सिद्धार्थ नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले हरेक क्षेत्रका व्यवसायीका समस्याप्रति स्थानीय सरकार गम्भीर हुनुपर्ने बताए ।

कार्यक्रममा सिद्धार्थ नगरपालिकाका प्रमुख अधिकारी, सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, देवदह नगरपालिकाका प्रमुख हीराबहादुर केसी, बुटवल–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीलगायत जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।

Loading...