पोखरामा मनाइयो विश्व रेडियोग्राफी दिवस

पोखरा । नेपाल रेडियोलोजिकल सोसाइटीको आयोजनामा १२२ औं विश्व रेडियोग्राफी दिवस तथा छैठौं अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस पोखरामा पनि मनाइएको छ । एक्सरे आविष्कार भएको सम्झनामा हरेक वर्ष नोभेम्बर ८ मा विश्वभरी नै यो दिवस मनाइदै आएको छ ।

रेडियोग्राफी पेशाकर्मीहरुको साझा संस्था सोसाइटीले बुधबार पोखरामा प्रभातफेरी तथा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । “हामीहरु तपाईंको सुरक्षाबारे पर्वाह गर्छाैं” भन्ने नाराका साथ विश्वभर मनाइएको यो दिवसको सन्दर्भमा पोखरामा पनि प्रभातफेरि तथा रक्तदानसहितका कार्यक्रम गरी यो दिवस मनाइएको हो । सो क्रममा भएको प्रभातफेरी कार्यक्रममा पोखरा र आसपासमा रेडियोलोजी पेशामा आबद्ध रेडियोलोजिस्ट तथा रेडियोग्राफरहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा रेडियोग्राफी विषय अध्ययन गरी रहेका विद्यार्थीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

पहिलो रक्तदाता तथा सोसाइटीका चार नम्बर प्रदेश सहसंयोजक डा. श्याम सुन्दर पराजुलीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै प्रमुख अतिथी वरिष्ठ रेडियोलोजिष्ट डा. कालु शर्मा सुवेदीले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धि बहादुर थापा, रेडियोलोजिष्टहरु डा. आनन्द बहादुर श्रेष्ठ, डा. दीपक बगाले, डा. मदन थापा, डा. रोशन पंगेनी र नेपाल रेडियोलोजिकल सोसाइटीका केन्द्रीय सचिव भीम बहादुर थापा अरुण लगायते बोलेका थिए ।

पोखराको चिप्लेढुंगामा आयोजित रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ । कार्यक्रम सोसाइटी प्रदेश नं. ४ को संयोजक उदयकान्त तिवारीको अध्यक्षता तथा सचिव विमल क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Loading...