८८ केजी सुन प्रकरण : मुख्य अभियुक्त छुटे, चालक जेल चलान

काठमाडौं जिल्ला अदालतले ८८ केजी सुन तस्करीका मुख्य अभियुक्त लाम्पा ग्लाजेन तामाङलाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको छ । गाडीचालकहरू मनोज अधिकारी, दिलीप खड्का र दाम्पा लामालाई अदालतले मुख्य दोषी ठहर गरेको छ । जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले शुक्रबार थुनछेक आदेश दिएको हो । तीनजना चालकले एक हजार रुपैयाँ लिएर सीमामा गाडी वारपार गराउने गर्थे । आजो नयाँ पत्रिकामा खबर छ ।

अदालतले मुख्य अभियुक्त तामाङसहित बांगेमुढामा शाक्य सुनचाँदी पसल चलाउने शुभरत्न शाक्य, रबिश्या ट्रेडर्स चलाउने सत्यनारायण अग्रवाल, रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी पसल चलाउने गणेश दत्त बडूलाई धरौटीमा छाड्ने आदेश दिएको हो । प्रहरी अनुसन्धान प्रतिवेदनको ठीकविपरीत अदालतबाट आदेश आएको छ । प्रहरीले घटनामा संलग्न भनिएका चालकहरू निर्दाेष देखिएको जनाएको थियो । ४६ करोड बिगोदाबी भएको मुद्दामा दुईजनालाई चार–चार लाख तथा अन्य दुईजनालाई दुई÷दुई लाख रुपैयाँ मात्र धरौटी मागिएको छ ।

उनीहरूसहित दिनखर सालुखे र नन्दकुमार मर्गलेलाई पुर्पक्षका लागि जेल चलानको आदेश भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद शर्माले बताए । प्रहरी अनुसन्धानमा सुन तस्करीमा अग्रवाल र शाक्यको मुख्य भूमिका देखिएको थियो । तर, उनीहरू सामान्य धरौटीमै छुटेका छन् ।

अदालतले सामान्य तारेखमा छाड्ने आदेश दिएका तामाङ सुन तस्करी मुद्दामै हत्यामा समेत संलग्न व्यक्ति हुन् । १४ असोजमा स्वयम्भूमा तस्करीको ६ किलो सुन लुकाएको आरोपमा रसुवाका गगन तामाङको हत्या भएको थियो । हत्यामा संलग्नमध्ये एक लाम्पा ग्लाजेन तामाङ ८८ किलो सुन तस्करीमा समेत संलग्न रहेको खुलेपछि महानगरीय प्रहरी परिसरले उनलाई पनि प्रतिवादी बनाएको थियो ।

प्रहरी अनुसन्धान एउटा, अदालतको आदेश अर्काे 
प्रहरीले चालकहरू निर्दाेष देखिएको भन्दै १५ कात्तिकमा जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर, सरकारी वकिल कार्यालयले उनीहरूलाई छाड्न नमिल्ने भन्दै चालकसहित ११ जनाविरुद्ध गत १९ कात्तिकमा जिल्ला अदालतमा संगठित अपराध मुद्दा दर्ता गरेको थियो । प्रहरी अनुसन्धानमा निर्दाेष देखिएका तीनैजना चालकलाई अदालतले भने जेल चलानको आदेश दिएको छ । अभियुक्तविरुद्ध ४६ करोड ७० लाख १६ हजार रुपैयाँ बिगो दाबी गरी संगठित अपराध मुद्दा चलाउन सिफारिस गरिएको थियो । बरामद भएको ८८ किलो सुनको मूल्यलाई बिगो बनाइएको हो । ११ अभियुक्तविरुद्ध संगठित अपराध ऐनअनुसार पाँच वर्ष कैद सजाय माग गरिएको थियो । तर, प्रहरी अनुसन्धानको निष्कर्षविपरीत अदालतबाट आदेश भएको छ ।

मुख्य तस्कर फरार 
तस्करीमा संलग्न मुख्य चार तस्कर फरार छन् । चिनियाँ नागरिक पेन बेइमिङ र उनकी श्रीमती याङ तथा अर्का चिनियाँ नागरिक झोङ होङ ल्याङ मुख्य तस्कर भएको प्रहरीले जनाएको छ । त्यस्तै, उनीहरूलाई सहयोग गर्ने रसुवाका हिस्से स्याङबा पनि फरार छन् । उनीहरू चारैजनाविरुद्ध मुद्दा दायर भएको छ ।

अर्का मुख्य तस्कर मानिएका नेपाल केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङसमेत धरौटीमा छुटेर चालकहरू जेल चलान भएपछि अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू चकित भएका छन् । पक्राउ परेकामध्ये दाम्पा र दिलीप रसुवागढी नाकामा गाडी चलाउने काम गर्दै आएका थिए । नाकापारि रसुवाका स्थानीय मात्र जान पाउने भएकाले उनीहरूले गाडी वारपार गराउने काम गर्दै आएका थिए । एक-एक हजार रुपैयाँ लिएर उनीहरूले गाडी वारपार गराएका थिए । सोही आधारमा उनीहरूलाई तस्करीमा मिलेमतो रहेको भन्दै मुद्दा चलाउन नमिल्ने प्रहरीको राय थियो । 

Loading...