यातायातका लेखापालले ६१ कराेड भ्रष्टाचार गरेकाे खुलासा, लेखापाल पक्राउ

भ्रष्टाचार गरेकाे पैसाले इटहरी, काठमाडौं र विराटनगरमा घर बनाएकाे खुलासा

काठमाडाैं, २४ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौँ रुपैयाँ अपचलन गरेको आरोपमा यातायात व्यवस्था कार्यालय कोसी इटहरीका लेखापाल सुरेश अधिकारीमाथि अनुसन्धान थालेको छ । अख्तियारले गत आइतबार काठमाडौंको रानीबारीबाट उनलाई पक्राउ गरेको हो ।

इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा ०६७ फागुनदेखि काम गर्दै आएका उनले विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने राजस्व रकम कम्प्युटरमा गलत डाटा इन्ट्री गरेर हिनामिना गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । अधिकारीमाथि ६१ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको सहसचिव तथा आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए ।

०७०-७२ को अवधिमा राजस्व दाखिला नगरेको आरोपमा अख्तियारले तीन उपसचिव, दुई अधिकृत र तीन लेखापाल गरी आठजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । छानबिनका क्रममा लेखापाल अधिकारीसहित केही कर्मचारी निलम्बनमा परेका थिए ।

राजस्व हिनामिना प्रकरणमा अख्तियारले यातायात कार्यालयका तत्कालीन प्रमुख रमेशप्रसाद दाहालविरुद्ध १२ करोड ३० लाख, उपसचिव विष्णुप्रसाद पौडेलविरुद्ध २३ करोड ७७ लाख र अर्का उपसचिव नयराज नेपालविरुद्ध २५ करोड १३ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।

लेखापाल सुरेश अधिकारीले इटहरी, काठमाडौं र विराटनगरमा घर जोडेका छन् । उनको इटहरीमा एक, विराटनगरमा दुई र काठमाडाैँमा एउटा सुविधासम्पन्न घर भएको स्रोतले जनाएको छ । हाल उनको सबै सम्पत्ति अख्तियारले रोक्का गरेको छ । उनले सवा करोड मूल्य पर्ने टोयटाको फर्चुनर गाडी चढ्दै आएका छन् ।

Loading...