परेवा, मुसादेखि जंगली जनावर घरमा पाल्नेहरुमाथि सिअाइबीकाे कडा निगरानी

काठमाडाैं, २४ कार्तिक । तपाईंले व्यावसायिक तवरबाट आफ्नै घरमा ठूलो मात्रामा वनमा पाइने जनावर राष्ट्रिय निकुञ्जको अनुमति नलिएर पाल्नुभएको छ भने ख्याल गर्नुहोस प्रहरीको फन्दामा पर्नुहोला।

राष्ट्रिय निकुञ्जको अनुमतिबिना वन्यजन्तु पाल्न नमिल्ने र कसैले पालेको छ भने अवैधानिक ठानिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बताएको छ। गैरकानुनी तरिकाले वन्यजन्तुको चोरी शिकारी, गैंडाको खाग बेच्नेलगायत अन्य वन्यजन्तुको अवैध व्यापारमा संलग्न रहेका ५ सय जनालाई पक्राउ गरी कारबाही थालिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ।

सीआईबीको पछिल्लो विवरणअनुसार राष्ट्रिय निकुञ्जको स्वीकृतिबिना गैरकानुनी तरिकाले वन्यजन्तु घरमै पाल्ने र गैरकानुनीरूपमा वन्यजन्तुको व्यापार गरेको अभियोगमा ५ सय ४० जना पक्राउ परेका छन्।

ती सबैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही हुने विभागले बताएको छ। जसमध्ये ५ सय १२ जना पुरुष छन्। तीमध्ये ४ सय ८२ जना स्वदेशी र ३० जना विदेशी रहेका छन्।

यस्तै २८ जना महिला पक्राउ परेका छन्। तीमध्ये २७ जना स्वदेशी र १ जना विदेशी महिला रहेको केन्द्रीय अनुसन्धान ब्युरोले बताएको छ। ब्युरोका अनुसार गैंडाको खाग ८ वटा, गैंडाको खुर १३ वटा, बाघको छाला २ वटा, सुनाखरी ४ किलो ४ सय ग्राम, हात्तीको दाह्राबाट बनेको देवीको जस्तो देखिने आकृति एक थान नियन्त्रणमा लिइएको छ।

Loading...