दुर्इ वर्षमा नेपाल आउने बेलायती दोब्बर नाघे

काठमाडाैं । नेपाल भ्रमण गर्ने बेलायती पर्यटकको संख्या गत वर्षदेखि आकस्मिक रुपमा रुपमा बृद्धि भएको छ। सन् २०१५ मा भूकम्पको कारण २९ हजारमा घटेको यो संख्या गत वर्ष ४६ हजार २ सय ९५ पुगेको थियो। यो बर्ष त्यो संख्या बढेर ६० हजार भन्दामाथि पुग्ने आशा बेलायतस्थित नेपाली दूताबासले गरेको छ।

मंगलबार नेपाली दूताबासले लण्डनमा नेपालको पर्यटन प्रबर्धन सम्बन्धि कार्यक्रम गरेको छ। कार्यक्रममा प्रमुख आथित्य ग्रहण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपाल भ्रमणका लागि सुरक्षित गन्तव्य भएको बताए।

पर्यटकहरु भगवान सरह भएको र नेपाल र नेपालीले पर्यटकको सधै सम्मान गर्ने गरेको चर्चा गर्दै उनले बेलायतीहरुलाई सुन्दर देश नेपाल भ्रमण गर्न पनि आह्वान गरे। नेपालमा भूकम्पपछि क्षतिग्रस्त पुरातात्विक सम्पदा, ट्रेकिङ रुट र अन्य भौतिक संरचनाहरु पुनर्निर्माण भईसकेकोले कुनै कठिनाई नहुने पनि उनले बताए।

‘नेपाल र बेलायतबीचका दुई सय वर्ष परानोे दौत्य सम्वन्ध आगामी दिनमा अझ प्रगाड हुने छ,’ उनले भने ‘नेपालको पर्यटन विकासमा बेलायतको भूमिका महत्वपूर्ण छ। पर्यटन विकासलाई ध्यानमा राखेर नेपालको निजगढ, भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधिन रहेका उनले जानकारी दिए।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायत नेपालको एउटा मुख्य पर्यटकीय श्रोत भएको बताए। १८ औं शताव्दीदेखि नै बेलायतीले नेपाल भ्रमण गर्न थालेको चर्चा गर्दै उनले साहसिक पर्यटनको विकासमा बेलायको भूमिका महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा स्लाइड शो प्रिजेन्टेसनमार्फत नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले नेपालको प्राकृतिक सौन्दर्य, भौगोलिक तथा सांस्कृतिक विविधता, भाषा, धर्म, हिम श्रृंखला आदिबारे जानकारी दिंदै नेपाल भ्रमण गर्न सबैमा आग्रह गरे।

कार्यक्रममा रोयल बोटानिकल गार्डेनका एडिनबराका बनस्पति प्रमुख डा. मार्क वाट्सनले रोयल बोटानिकल गार्डेनले नेपालमा वनस्पति संरक्षणका बारेमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए।

कार्यक्रममा नेपालको कला संस्कृति झल्कने मौलिक नाच, खस नाच, मन्जुश्री नाच, तामाङ सेलो, धिमे बाजा आदि प्रस्तुत गरिएको थियो। कार्यक्तमा नेपालको पर्यटन विकासको निमार्ण गरिएको वृत्तचित्र पनि देखाईएको थियो।

कार्यक्रममा स्थानीय मेयरहरु, काउन्सिलहरु, लन्डनमा जारी विश्वभरका ट्राभल व्यवसायीहरुको मेला वल्ड ट्राभल मार्केट (डब्लुटिएम) मा सहभागिता जनाउन नेपालबाट आएका करिब तीन दर्जन कम्पनीका प्रतिनिधि, बेलायतस्थित नेपाली र बेलायती ट्राभल व्यवसायीहरुको उपस्थिति थियो।

Loading...