कर्णाली राजमार्गको जुम्लाखण्डमा कालेपत्रे सुरु

जुम्ला, २ असार । कर्णाली राजमार्गको जुम्ला खण्डमा कालोपत्रे कार्य सुरु भएको छ । जुम्लाको तातोपानी गा.वि.स वर्डा नं १ राकामा आइतवार प्रारम्भमा २ सय ३० मिटर कालोपत्रे गरिएको छ ।
पछिल्लोे समयमा तीब्र गतिमा स्तरवृद्धि र कालोपत्रेको लक्ष्य बनाएको जेवि कम्पनी राजेन्द्र निर्माण सेवाले कर्णाली राजमार्गमा औपचारिक रुपमा कालोपत्रे सुरुवात गरेको छ । सो क्रममा निर्माण कम्पनीले विभिन्न सरोकारवालाहरुलाई कालोपत्रे कार्य सुरुवात विन्दुमा बोलाएको थियो ।
उक्त कम्पनीले जुम्लाको राकाबाट खलंगाबजारको अन्तिम विन्दुमा पर्ने १६ किलोमिटर कालोपत्रे गर्ने कार्यको जिम्मेवारी लिएको छ । कम्पनीले मौसम र साधनले साथ दिए असार अन्तिममा १६ किलोमिटर पूरै कालोपत्रे गर्न सकिने बताएको छ ।
कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको खिड्कीज्यूलादेखि जुम्ला सदरमुकाम खलंगासम्मको सडक कालोपत्रे गर्न विभिन्न ८ वटा ‘कन्टीजन्सी’हरुले जिम्मा लिएका छन् । उनीहरुले जिम्मा पाएको सड््कको निर्माण तथा कालोपत्रे गर्ने बताइएको छ ।
कर्णाली राजमार्ग कालोपत्रे हुन थालेपछि जुम्लावासीहरु निकै खुसी भएका छन् । जुम्लाको सडक खण्ड कालोपत्रे कार्य सुरु भए पनि अन्य ठाउँमा भने अझै काम सुरु हुन सकेको छैन ।
यसअघि कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतदेखि कालिकोटको खिड्कीज्यूलासम्म कालोपत्रे कार्य सम्पन्न भइसकेको छ । तर, उक्त क्षेत्रमा बाटो भत्किएका कारण सवारी आवागमनमा अझै कठिनाई उत्पन्न भइरहेको छ । कर्णाली राजमार्गमा चल्ने सवारी धनी र यात्रुहरुले निकै सास्ती पाउने गरेको गुनासो गर्दै आएका छन् ।

Loading...