ग्रेड सीट कुर्दाकुर्दै हजारौ बिद्यार्थी कक्षा ११ पढ्नबाट बन्चित

संजीप शुभचिन्तक , भक्तपुर । एसइइ परीक्षामा स्तरोन्नती गरेका हजारौ बिद्यार्थीहरु कक्षा ११ मा भर्ना हुनबाट बन्चित बनेका छन् । मौका परीक्षाबाट भर्ना हुने योग्यता बनाएका बिद्यार्थीहरु रजिष्ट्रेसन फारम भर्ने समय गुज्रदा भर्ना हुनबाट बन्चित बनेका हुन् ।

 

आफुले पढ्न चाहेको बिषयमा भर्ना योग्य हुन् ग्रेड सुधारका लागि मौका परीक्षा दिएका बिद्यार्थी अहिले ग्रेडमा सुधार गरि भर्ना हुन योग्य भएपनि रजिष्ट्रेसन फारमको समयसीमाका कारण भर्ना अयोग्य भएका हुन् । भर्ना हुन नपाउदा आफ्नो १ बर्ष त्यतिकै खेर गएको भन्दै उनीहरु चिन्तित भएका छन् । आफ्नो बिद्यालयमा ढिला गरि ‘ग्रेड सीट’ प्राप्त हुदा रजिष्ट्रेसन फारम भर्ने समय छुटेको उनीहरुको आरोप छ । अनुमानका आधारमा बढी दस्तुर बुझाएर बसेका विद्यालयहरुले बिद्यार्थी भर्ना गर्न सकेको भएपनि दुर्गमका धेरै बिद्यार्थी हेरेको हेर्यै भएको रोल्पाका एक प्रधानाध्यापकले भने ।

 

अहिले देशैभरिबाट रजिष्ट्रेसन फारम भर्ने समय थपका लागि विद्यालयहरुले सम्पर्क गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका एक कर्मचारीले जानकारी गराए । ”हजारौ विद्यार्थीले रजिष्ट्रेसन फाराम भर्न छुटाएको देखिएको छ ।” इभक्तपुरसंग उनले भने ।

 

राष्ट्रिय परीक्षा बोर्डले असोज मसान्त सम्म बिद्यार्थीहरुलाई रजिष्ट्रेसन फारम भर्ने समय तोकेको थियो भने कात्तिक १५ गतेसम्ममा फाराम बुझाइसक्न विद्यालयहरुलाई भनेको थियो । तर बिद्यालयमा सम्पर्क गरेका र पढ्न समेत थालिसकेका बिद्यार्थीहरुले ग्रेड सीट कुर्दा कुर्दै समय गुजारे । दशैँ बिदामा आएको आफुहरुको परीक्षाफल तिहार र छठ लगाएतका बिदाका कारण समयमै बिद्यालयमा नआएपछि यतिबेला आफुहरु पीडित बनेको बिद्यार्थीहरुले इभक्तपुरलाई बताए ।

 

परीक्षा बोर्डका परीक्षा नियन्त्रक डम्बरकुमार बतासले भने ग्रेड सीटको सक्कल आवश्यक नभएको र इन्टरनेटबाट प्रिन्ट गरेर पेस गर्दा पनि हुनेमा अहिले आएर बिद्यार्थीहरुले बहाना बनाएको दावी गरे ।

Loading...