पत्रकार चाैधरी ‘जोखन-जगत रत्गैया’ पत्रकारिता पुरस्कारबाट पुरस्कृत

धनगढी, २२ कार्तिक । थारु पत्रकार संघ नेपालले जोखन-जगत रत्गैया पत्रकारिता पुरस्कार पत्रकार कालिमैया चौधरी ‘उन्‍नती’लाई प्रदान गरेको छ । संघको हालै सम्पन्‍न छैठौं साधारण सभाबाट उक्त पुरस्कार प्रदान गरेको हो ।

जोखन रत्यैया थारुले २०२८ सालमा थारु भाषाको पहिलो पत्रिका ‘मुक्तिक डगर’ प्रकाशन सुरु गरेका थिए । त्यसैगरी जगत रत्यैया थारुले ‘त्रासन’ नामक थारु भाषाको अर्को पत्रिका प्रकाशन गरेका थिए । हालको कैलाली गाउँपालिका-३ रानामुढाका जोखन-जगत दुई दाजुभाइ हुन् । दुबै भाइको जनयुद्धको क्रममा तत्कालिन सुरक्षाकर्मीले हत्या गरेका थिए ।

क्रान्तिकारी पत्रकार संगठन नेपालकी केन्द्रीय सचिवालय सदस्य समेत रहेकी उन्‍नती चौधरीले २०६३ सालबाट पत्रकारिता सुरु गरेकी हुन् । सेम अाह्‍वान दैनिकबाट पत्रकारिता सुरु गरेकी चौधरीले जनदिशा, जनादेश, मोर्निङ बेललगायत एक दर्जनभन्दा बढी संचारमाध्यममा काम गरिसकेकी छन् । त्यस्तै उनले थारु संस्कृति र थारु महिलाहरुको अधिकारको विषयमा गोरखापत्र, नागरिकलगायत पत्रिका कमल चलाउँदै अाएकी महिलाकाे पक्षमा कलम चलाउँदै अाएकी छन् ।

पत्रकार चौधरी हाल ‘मुक्तिक डगर’ अनलाइनको कार्यकारी सम्पादक समेत छन् । पहिलो पटक स्थापना गरिएको उक्त पुरस्कारबाट उनी सम्मानित भएकी हुन् । साथै, साधारण सभाले उन्‍नती चौधरीलाई ७ नम्बर प्रदेशको संयोजकमा निर्वाचित गरेको छ ।

Loading...