अन्तर्राष्ट्रिय खोज पत्रकारले गरे अर्काे खतरानाक खुलासा

अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आइसिआइजे)ले अर्को सनसनीपूर्ण विवरण सार्वजनिक गरेको छ । यसलार्इ अाइसिअाइजेले प्याराडाइज पेपर्स नाम दिएकाे छ । यसमा संसारका चर्चित चर्ति व्यक्तिहरु जाेडिएका छन् । बेलायती महारानी इलिजावेथ द्वीतीयदेखि अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादमिर पुटिनसम्म तानिएका छन् । यसअघि खाेज पत्रकारहरुकाे साेही समूहले पानामा पेपर्स सार्वजनिक गरेपछि विश्वभर तरङ्ग सिर्जना भएकाे थियाे ।

अाइसिअाइजेले आइतबार सार्वजनिक ‘प्याराडाइज पेपर्स’ नामक विवरणमा बेलायती महारानी एलिजाबेथ द्वितीयसहित विश्वका धेरै राष्ट्रप्रमुख, पूर्वप्रमुख, राजनीतिज्ञ, कलाकार र खेलाडीका अतिरिक्त विश्वका ठूला कम्पनीले ट्याक्स हेभेनमा सम्पत्ति लुकाएको खुलासा भएको हो । गत वर्ष सार्वजनिक भएको यस्तै प्रकृतिको विवरण पानामा पेपर्सले पनि विश्वका विभिन्न राष्ट्रका प्रमुख, राजनीतिक दलका नेता तथा व्यापारीलाई विवादमा तानेको थियो । पानामा पेपरमा मुछिएका तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई गत जुलाईमा सर्वोच्च अदालतले दोषी ठहर गरी अपदस्थसमेत गरेको थियो ।

को–को तानिए प्याराडाइज पेपर्समा ?

बेलायती महारानी एलिजाबेथ द्वितीया, कोलम्बियाका राष्ट्रपति जुआन म्यानुअल सान्तोस र लाइबेरियाका राष्ट्रपति एलेन जोन्सन गरी तीनजना राष्ट्रप्रमुखले ट्याक्स हेभेनमा सम्पत्ति लुकाएको खुलेको छ । महारानी एलिजाबेथ द्वितीयाले मेडिकल र उपभोक्तालाई ऋण दिने कम्पनीमा दशौँलाख डलर लगानी गरेको खुलेको छ । जोर्डनकी रानी नूर अलहुसैन, कोस्टारिकाका पूर्वराष्ट्रपति जोसे मारिया फिगरेर्स पनि सोही मुद्दामा तानिएका छन् ।

यसैगरी, पाकिस्तानी पूर्वप्रधानमन्त्री सौकात अजिज, अस्ट्रियाका पूर्वचान्सलर अल्फ्रेड गुसेन्बर, जर्मनीका पूर्वचान्सलर गर्हार्ड र जापानका पूर्वप्रधानमन्त्री युकिओ हातोयामा पनि प्याराडाइज पेपर्सको मुद्दामा मुछिएका छन् । सबैभन्दा धेरै क्यानडाका तीनजना पूर्वप्रधानमन्त्रीहरू जिन क्रेटिअन, पाउल मार्टिन, ब्रिआन मुल्रोनी पनि प्याराडाइज पेपरको मुद्दाले विवादित बनेका छन् ।

सन् २००४ मा अमेरिकाको राष्ट्रपतिका उम्मेदवार वेस्ली क्लार्क, रुसका लागि अमेरिकाका राजदूत जोन हन्टस्म्यान, अमेरिकी केन्द्रीय बैंकमा अनुगमन शाखाका उपाध्याक्ष रान्डल क्वार्लस पनि तानिएका छन् । क्यानडा, घाना, इन्डोनेसिया, जोर्डनका केही नेता तथा सरकारी अधिकारीहरूका आफन्तसमेत सो मुद्दामा मुछिएका छन् । भारत सरकारका उड्ययनमन्त्री जयन्त सिन्हा र भारतीय जनता पार्टीका राज्यसभाका सांसद रवीन्द्रकिशोर सिन्हा पनि यो मुद्दामा गाँसिएको भारतीय समाचार संस्था इन्डियन एक्स्प्रेसले जानकारी दिएको छ ।

प्याराडाइज पेपर्सले खुलायो ट्रम्प–पुटिन व्यापारिक सम्बन्ध

यो काण्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच व्यापारिक सम्बन्ध खुलाएको छ । ट्रम्पका खर्बपति वाणिज्यमन्त्री तथा प्राइभेट इक्विटी टाइकुन विल्बर रोसको सिपिङ कम्पनीले पुटिनका ज्वाइँको ऊर्जा कम्पनीबाट सन् २०१४ पछि करिब ७ अर्ब नेपाली रुपैयाँबराबर आम्दानी गरेको खुलासा प्याराडाइज पेपर्सले गरेको हो । त्यस्तै, ट्रम्पका १ दर्जनभन्दा बढी मन्त्रीहरू, सल्लाहकारहरू र दाताहरूले ट्याक्स हेभेनमा सम्पत्ति लुकाउने र कर छली गर्ने गरेको पनि खुलेको छ । तिनमा विदेशमन्त्री रेक्स टिलरसन, वाणिज्यमन्त्री रोसलगायत छन् ।

विश्वका ठूला कम्पनी कर छलीमा

विश्वकै ठूला बहुराष्ट्रिय कम्पनीहरू एप्पल, माइक्रोसफ्ट, फेसबुक, इ–बे, ग्लेनकोर, युबर, नाइक, वालमार्ट, एलियान्ज, सिमेन्स, म्याक डोनाल्ड र याहुले पनि कर छली गरेको सो विवरणमा उल्लेख छ । तर, एप्पल, नाइक र फेसबुकले भने कर छली गरेको मुद्दा अस्वीकार गरेको ‘द एक्सप्रेस ट्रिब्युन’ ले जानकारी दिएको छ । यसैगरी, भारतीय विद्युतीय उपकरण निर्माण कम्पनी भिडियोकन, युनाइटेड स्पिरिटस् जिन्दल स्टिल तथा पावर कम्पनीलगायत एपोलो टायर पनि सो सूचीमा समावेश छन् । भारतीय कलाकार अमिताभ बच्चन, मान्यता दत्त, अमेरिकी गायिका म्याडोनालाई पनि प्याराडाइज पेपर्सले कर छली गर्नेको सूचीमा समेटेको छ ।

बर्मुडा, क्यामन आइल्यान्ड, ब्रिटिस भर्जिन आइल्यान्डजस्ता स्थानमा कर छली गरिएको रकम लगानी हुने गरेको छ । फ्रान्सेली अर्थशास्त्री ग्याबरियल जुकम्यानले कर छली गरी ट्याक्स हेभेनमा लगानी गरिएकाले विश्वमा आर्थिक असमानता वृद्धि हुने टिप्पणी गरेका छन् । ‘विश्वमा आर्थिक असमानता जति वृद्धि हुँदै जान्छ, त्यति नै बढी कर छली गरी अफसोरमा लगानी गर्ने क्रम पनि बढ्दै गएको देखिन्छ,’ उनले भने । अफसोर कानुनी परामर्श सेवा प्रदायक कम्पनी एप्पलबाईले भने प्याराडाइज पेपर्समा आफू वा आफ्ना कुनै पनि सेवाग्राहीले गल्ती गरेको प्रमाण नपाइएको बताएको छ । ‘हामी सेवाग्राहीलाई वैधानिक र कानुनी तवरले कसरी व्यवसाय गर्ने भनेर सल्लाह प्रदान गर्छौं । कुनै पनि गैरकानुनी व्यवहार हामीलाई मान्य हुँदैन,’ एप्पलबाइले प्रतिक्रिया दिएको छ । प्याराडाइज पेपर सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री थेरेसा मे दबाबमा परेको उल्लेख गरिएको छ । दुवै नेताहरू व्यापक कर कटौती गर्ने कानुन कार्यान्वयनमा ल्याउन प्रयासरत रहेका थिए ।

कुल एक करोड ३४ लाखभन्दा बढी फाइल भएको प्याराडाइज पेपर्समा १ दशमलव ४ टेराबाइट डेटा छ । यो विवरण हालसम्मकै दोस्रो ठूलो विवरण हो । गत वर्ष सार्वजनिक भएको पानामा पेपर्सको स्टोरेज स्पेस करिब २ दशमलव ६ टेराबाइट रहेको थियो । सन् २०१३ मा सार्वजनिक भएको अफसोर सेक्रेटस् २०१३ तेस्रो, सन् २०१४ को लक्जेम्बर्ग ट्याक्स फाइल्स तेस्रो, सन् २०१५ मा एचएसबिसी फाइल्स तेस्रो र २०१० को विकिलिक्स सार्वजनिक भएका क्रमशः तेस्रो चौथो र पाँचौँ ठूला विवरण हुन् ।

के हो प्याराडाइज पेपर ?

तीन सय असीभन्दा बढी पत्रकारहरूको समूहले करिब एक वर्ष लगाएर अफसोर कम्पनीमा लगानीको तथ्यांक अध्ययन गरी सार्वजनिक गरिएको विवरण प्याराडाइज पेपर्स हो । सो विवरणमा ७० वर्षका डकुमेन्टहरू समावेश गरिएका छन् । समाचार संस्थाहरू बिबिसी, द गार्जियन र न्युयोर्क टाइम्सलगायतका राष्ट्रका करिब एक सय समाचार एजेन्सीहरूको सहभागितामा आइसिआइजेले करिब १ करोड ३४ लाख कर छलीका फाइलहरू अफसोरमा लगानी भएको आइतबार सार्वजनिक गरेको छ । विश्वका करिब १ लाख २० हजार व्यक्ति तथा व्यावसायिक कम्पनीले १९ ट्याक्स हेभेन मुलुकमा गरेको लगानी विवरणमा समेटिएको छ । कर छुट र आयको स्रोत खुलाउनुनपर्ने भएकाले ट्याक्स हेभेन मुलुकमा अफसोर कम्पनीमा ठूलो रकम लगानी हुने गरेको छ ।

Loading...