जेलमा रहेका अभियुक्तले समेत प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेको खुलासा

कैलाली, १९ कार्तिक । मंसिरमा हुने संघ तथा प्रदेशकाे निर्वाचनका लागि प्रहरीकाे सर्वाधिक खाेजीमा रहेका तथा जेलमा बसेका समेतले उम्मेदवारी दर्ता गरेकाे थाहा भएकाे छ । उनीहरुले अाफै उपस्थित नभएर वारेसमार्फत उम्मेदवारी दर्ता गराएकाे खुलेेकाे हाे ।

यसअघि दिपक मनाङे र गणेश लामाकाे उम्मेदवारीका बारेमा पनि प्रश्न उठेेकाे थियाे । त्यससँगै नेपाल प्रहरीका एसएसपीसहित ८ सुरक्षाकर्मी र एक बालककाे ज्यान जानेगरी कैलालीकाे टिकापुर घटनाका प्रमुख दाेषी मानिएका राेशन चाैधरी र लक्ष्मण थारुले यसरी उम्मेदवारी दिएका हुन् । साेही घटनाका दाेषीका रुपमा पक्राउ परेका लक्ष्मण थारु हाल जेलमा छन भने राेशन चाैधरी अहिलेसम्म फरार छन् । दुबै जनाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् ।

उनीहरुकाे उम्मेदवारीलार्इ लिएर व्यापक चर्चा तथा टिप्पणी सुरु भएकाे छ । रेशम चौधरीले कैलाली निर्वाचन क्षेत्र १ मा राजपाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् भने लक्ष्मण थारुले कैलाली निर्वाचन क्षेत्र नं. ६ का लागि राजपाबाटै प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुकाे उम्मेदवारी वैध हुने वा नहुने भन्नेबारे अहिले चर्चा चलिरहेकाे छ ।

राज्यको नजरमा फरार रहेका व्यक्तिले उम्मेदवारी दर्ता गर्न गैरकानुनी भएको कानुन व्यवसायीको भनाइ छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले कानुनी रूपमा नै फरार अभियुक्तको उम्मेदवारी दर्ता गराएको बताएका छन् । अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म अभियुक्तलाई पनि उम्मेदवार बन्न पाउने कानुनी प्रवाधान भएको उनको भनाइ छ।

नेपाल बार एसोसिएसन कैलालीका पूर्वअध्यक्ष गंगाप्रसाद पाध्यायले राज्यको नजरमा फरार अभियुक्तले उम्मेदवारी दर्ता गर्न नपाइने बताए । ‘फरार अभियुक्तले वारेस नै राख्न पाइँदैन,’ उनले भने।

अर्का अधिवक्ता गम्भीर ऐरले कानुनमा वारेस दिन अयोग्य व्यक्तिले वारेसनामा दिन नपाइने स्पष्ट उल्लेख भएको बताए । ‘अयोग्य व्यक्तिले गैरकानुनी रुपमा वारेसनामा दिएका व्यक्तिले उम्मेदवारी दर्ता गर्न पाइँदैन । यो गैरकानुनी हो,’ उनले भने । मुख्य निर्वाचन अधिकृत अर्याल निर्वाचन लड्न पाउने भएपछि फरार व्यक्तिले वारेसनामा पनि राख्न पाइने बताएका छन्।

टीकापुर घटनामा संलग्न भएको भन्दै रेशमविरुद्ध कर्तव्य ज्यान मुद्दा, ज्यान मार्ने उद्योग र हतियार डकैतीसम्बन्धी ३ वटा मुद्दा जिल्ला अदालत कैलालीमा परेको छ । त्यही मुद्दामा २५ जना २ वर्षदेखि पुर्पक्षका लागि थुनामा छन् भने घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरी २ वर्षदेखि फरार छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले फरार व्यक्तिले उम्मेदवारी दर्ता गर्ने कानुनबमोजिम भए–नभएको मुख्य निर्वाचन अधिकृतले हेर्ने विषय भएको बताएका छन् । ‘मुख्य निर्वाचन अधिकृतले हेर्ने भएकाले मैले यस विषयमा कुनै ध्यान दिएको छैन,’ उनले भने।

कैलाली निर्वाचन क्षेत्र ६ मा राजपाबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका लक्ष्मण थारीकाे उम्मेदवारी स्थानीय जगन्नाथ चौधरीले दर्ता गरेका हुन् । उनको उम्मेदवारी भने कानुनसम्मत भएको कानुन व्यवसायीले बताएका छन् । राज्यको नियन्त्रणमा रहेको र अदालतबाट अपराधी ठहर भइनसकेका व्यक्तिले कानुनी रुपमा उम्मेदवारी दर्ता गर्न पाउने अधिवक्ता ऐर बताउँछन्।

तत्कालीन फोरम लोकतान्त्रिकका नेता थारु केही दिनअघि मात्र जेलबाटै राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका थिए । टीकापुरमा घटनाको मुख्य योजनाकार रहेको भन्दै थारुलार्ई पक्राउ गरिएको थियो । उनीमाथि दायर मुद्दा फैसला भएको छैन ।

Loading...