काठमाडौंमा जाडो बढ्दै गर्दा गौथलीहरुको गीतको चर्चा 

काठमाडौँ, १८ कार्तिक । राजधानीमा जाडाे ह्वात्तै बढेकाे छ । जाडाेसँगै बिभिन्न साहित्यकारहरुले अाफ्ना विम्व जाेडेर साहित्य सिर्जनालार्इ बढाएका छन । जाडाे बढ्दै गर्दा साहित्यकार एसपी कोइरालाको ‘गौँथलीहरूको गीत’ सार्वजनिक भएकाे छ । याे काेइरालाकाे अग्रेजी कृति ‘सङ्स अफ स्वालोज’बाट नेपालीमा अनुवाद गरेकाे कृति हाे । 

सिर्जनात्मक महिला समूहले आयोजना गरेको एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुस्तक लोकार्पण गरेकी हुन् । राष्ट्रपति भण्डारीले कलाकार अरुणा हिङ्माङको नौदिने एकल चित्रकला प्रदर्शनीको पनि शुभारम्भ गरिन । कलाकार हिङमाङले साहित्यकार कोइरालाको कवितासंग्रहमा संग्रहित कविताको शीर्षकगत चित्र बनाएका हुन् । चित्र पुस्तकमा पनि समावेश गरिएको छ । यिनै चित्र प्रदर्शनीमा राखिएको हो । कलाकार हिङमाङको यो चौथो एकल चित्रकला प्रदर्शनी हो । 

कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले विदेशीको नक्कल गरेर नभई नेपाली मौलिकपनका कृतिको रचना सिर्जना गरेर नेपाली साहित्यलाई विश्व जगत्मा फैलाउन सकिने धारणा राखे । उनले भने, “नेपालीले साहित्यमा नोबेल पुरस्कार जित्न विदेशीले जस्तो साहित्य रचना गर्नुपर्दैन, हाम्रै कला संस्कृतिका आधारमा पनि नोबेल पुरस्कार जित्न सकिन्छ ।”  

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगत्मा लैजान नेपालीमा लेखिएका कृतिलाई अंग्रेजीमा अनुवाद गरिनुपर्ने बताए । उनले भने, “अनुवादमार्फत नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा लगे नोबेलजस्ता ठूला पुरस्कार पनि जित्न सकिन्छ, त्यसका लागि कृतिको भावना नमर्नेगरी अनुवाद हुनुपर्छ ।”

कृतिकार कोइरालाले मन दुःखेका बेला आउने भावनालाई ‘गौँथलीका गीत’ मा समावेश गरिएको जानकारी दिए । यो उनको चौथो कृति हो । प्रशासनिक सेवामा २५ वर्ष काम गर्नुभएका पूर्वसचिव शंकरप्रसाद कोइरालाले दोस्रो संविधानसभा निर्वाचन सम्पन्न गराउन पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठित मन्त्रिपरिषद्का अर्थ, उद्योग र आपूर्तिमन्त्रीको जिम्मेवारीसमेत पूरा गरेका छन् । 

Loading...