सुरक्षाकर्मीको अाक्रमणबाट ४० विद्राेहीको मृत्यु

कायरो, २३ असार । इजिप्टको उत्तरी सिनाईमा रहेको सैनिक पोष्टमा आत्मघाती विष्फोट गराएपछि शुक्रबार सरकारी सेनाले गरेको जवाफी कारबाहीमा परी कम्तीमा ४० जना विद्रोही लडाकूको मृत्यु भएको छ ।

सुरक्षा कार्यालयमा भएको आत्मघाती बम हमला र गोली प्रहारमा परी कम्तीमा १० जना सुरक्षाकर्मीको समेत मृत्यु भएको थियो ।

“सुरक्षा कारबाहीका क्रममा ४० जना लडाकू मारिएका छन्, साथै आतङ्ककारीहरूले प्रयोग गरेका छ वटा सवारी साधन पनि नष्ट गरिएको छ,” सेनाद्वारा जारी वक्तव्यमा भनिएको छ ।

सेनाको वक्तव्यमा कारबम विष्फोटनमा परी २६ सैनिक घाइते भएको पनि जनाइएको छ । बम हमलापछि सुरक्षा बलले लडाकूहरूलाई नजिकैको गाँउसम्म पछ्याएको थियो ।

विष्फोट लगत्तै मुखमा मास्कलगायका दर्जनौँ आतङ्ककारीले भीषण गोलाबारी गरेका र १० जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

आतङ्ककारीहरूले सरफाह शहरको अल बरस गाउँमा रहेको सैनिक पोष्टमा दुई कारबम विष्फोट गराएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

घटनास्थलमा घाइतेहरूलाई एम्बुलेन्सबाट उद्धार गरिएको थियो भने सुरक्षा फौजले सडक वरीपरी दोषीहरूको तत्काल खोजी गरेको थियो ।

सुरक्षा स्रोतका अनुसार आक्रमण गर्ने आतङ्ककारीहर्रू सिनाई स्टेट ग्रुप’सँग सम्बन्धित रहेका छन् । उनीहरूले सन् २०१४ मा इस्लामिक स्टेट (आईएस)प्रति झुकाव रहेको घोषणा गरेका थिए ।

तर यस आक्रमणको हालसम्म कुनै समूहले जिम्मा लिएको छैन । सन् २०१३ मा इश्लामिक राष्ट्रपति मोहम्मद मुर्सीको बहिर्गमनपछि उत्तरी सिनाईमा आईएस लडाकूहरूको नेतृत्वमा सुरक्षाकर्मीमाथि आक्रमण हुँदै आएको छ । साथै यस स¬ङ्घर्षका क्रममा सयौँ सुरक्षाकर्मीहरू मारिएका छन् ।

Loading...