मूल्याङ्कन प्रणाली सुधार्न अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा

काभ्रे । काउन्सिल अफ बोर्डस् अफ स्कूल एक्जामिनेशन (कोब्से)को ४६ औं सम्मेलन नेपालमा आयोजना गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको आयोजनामा (कोब्से) सम्मेलन नेपालमा आयोजना गरिएको हो । 

बिहिवार  पूर्व राष्ट्रपति रामवरण यादवले सम्मेलनको उद्घाटन गरेका छन् । काभ्रेको धुलिखेल अबस्थित एक होटलमा यादवले सम्मेलनको उद्घाटन गरेका हुन् ।

परीक्षाको मूल्यांकन प्रणालीलााई गुणस्तरीय र समयसापेक्ष बनाउने उदेश्यले एकअर्को देशको अनुभव र योजना आदानप्रदान गर्न सम्मेलन रणनीतिक महत्वको रहने बताईएको छ ।

तीनदिनसम्म चल्ने सम्मेलनमा विश्वका ७ देशका ७० बढी परीक्षा बोर्डहरुको सहभागिता रहेको आयोजक राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सम्मेलनमा भुटान, नेपाल, मौरिसस, पाकिस्तान, सिंगापुर, बेलायत, भारत र नेपालका परीक्षा बोर्ड गरी ७० बढी बोर्डका पदाधिकारी र परीक्षा विज्ञहरु भेला भएका छन् ।

सम्मेलनमा नेपालको तर्फबाट शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका प्रा.डा. गणेशबहादुर सिंह र त्रिभुवन विश्वविद्यालयका प्रा.डा. वासुदेव काफ्लेले कार्यपत्र प्रस्तुत गर्ने बोर्डले जनाएको छ । प्रतिनिधि र पर्यवेक्षक गरी सयाैं बिज्ञले सम्मेलनमा भाग लिएको जानकारी गराईएको छ ।

सम्मेलनको उद्घाटन गर्दै पूर्वराष्ट्रपति रामवरण यादवले मूल्यांकन प्रणालीमा सुधार भएमात्रै शिक्षाको गुणस्तरमा सुधार आउने बताए । शिक्षाको गुणस्तरमा सुधार आए मुलुक समृद्ध बन्नेमा उनको जोड थियो । मान्छेको ज्ञान र क्षमताको मूल्यांकन गर्ने विषय आफैमा जटिल छ । यादवले भने–”हाम्रो पुरातन मूल्यांकन प्रणालीमा सुधार आउन जरुरी छ ।”

फाेटाे : बुद्धशरण शाही

कार्यक्रममा शिक्षा सचिव मधुरमण रेग्मीले परीक्षा मूल्यांकन प्रणलीलाई नवीन, नयाँ प्रविधियुक्त, समयसापेक्ष र प्रभावकारी बनाउन जरुरी रहेको बताए । यसका लागि सम्मेलन उपयोगी हुनेमा आफु विश्वस्त रहेको उनको भनाई थियो ।

कार्यक्रममा कोव्सेका अध्यक्ष असानो सेकहोसेनले आजको दिनमा परीक्षा प्रणालीमा प्रविधि, सामाग्री, परीक्षा विधिमा समय सापेक्ष सुधार आवश्यक रहेको बताइन् । कोव्सेको यस सम्मेलनमा परीक्षालाई कसरी समयसमपेक्ष, अनुशासित, निष्पक्ष, मर्यादित र वैज्ञानिक बनाउन सकिन्छ र संसारमा कस्ता अभ्यासहरु भएका छन् त्यसबारेमा छलफल अन्तक्रिया हुनेछ । उनले भनिन्– यसबाट नेपालले परीक्षा प्रणालीमा सुधारका लागि धेरै कुरा सिक्न पाउनेछ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले हालको परीक्षा मूल्यांकन प्रणालीको व्यवहारिकता, निष्पक्षता र व्यवस्थापकिय समयसापेक्ष सुधारका बारेमा सम्मेलनमा छलफल हुने साथै अन्य मुलुकमा भएका मूल्यांकन प्रणाली सम्बन्धी राम्रा अभ्यासहरुको सिको गर्न पाइने भएकाले सम्मेलन नेपालका लागि फलदायी हुने आशा व्यक्त गरे ।

पहिले उमाशिप रहेकोमा अहिले राष्ट्रिय परीक्षा बोर्ड बनेकाले विदेशमा विद्यार्थीहरु समस्यामा पर्ने गरेको छ । उनले भने– सम्मेलनबाट विश्व समुदायमा बोर्डलाई चिनाउने, परीक्षाको मूल्यांकनबारे अन्य मुलुकमा भएका राम्रा अभ्यासहरुको बारेमा जानकारी लिने साथै हाम्रो परीक्षा प्रणाली सुधारका लागि यो सम्मेलन उपयोगी हुनेछ ।

पौडेलले नेपालको परीक्षा प्रणालीका बारेमा गुनासो आइरहेको बेलामा सम्मेलनले नेपालको परीक्षा प्रणालीमा सुधार ल्याउन सघाउ पुर्याउने स्पष्टसमेत पारे । हालको परीक्षा प्रणाली पनि पूर्ण रुपमा व्यवहारिक नभएको साथै बोर्डले निकट भविष्यमै विषयगत परीक्षाको तयारी गरिरहेको समयमा यो सम्मेलन कोसेढुंगा सावित हुने अध्यक्ष पौडेलले जानकारी दिए ।

बोर्डका सदस्य सचिव लक्ष्मीराम पौडेलले सम्मेलन नेपालको परीक्षा प्रणलीमा सुधारका लागि उपयोगी हुनेमा आफु विश्वस्त रहेको बताए ।

‘इनोभेशन इन इभ्यालुएशन’ भन्ने मूल नाराका साथ विहिवारदेखि शुरु भएको सम्मेलन १८ गतेसम्म हुने उक्त सम्मेलनमा आठ देशमा रहेका परीक्षा बोर्डका पदाधिकारीहरुको सहभागिता रहने छ ।

फाेटाे : बुद्धशरण शाही
फाेटाे : बुद्धशरण शाही
Loading...