काठमाडौंको डान्सबारमा पेस्तोल र ५१ राउन्ड गोलीसहित पक्राउ परे भारतीय प्रहरी हवल्दार !

काठमाडाैंमा गाेली चलाउँदै गर्दा यसरी समातीय २ जना भारतीय सार्प सुटर

काठमाडौं, १७ कार्तिक । काठमाडाैंकाे एक डान्सबारमा गाेली चलाएर भाग्न थालेका भारतीय नागरिक पञ्जाव प्रहरीका हवल्दार भएकाे थाहा भएकाे छ । बुधबार ‘ज्यान डेनिस डान्स’ नामक डान्सवारमा जसवीर सिंहसहितकाे भारतीय नागरिकले गाेली चलाएका थिए । गाेली चलाएर भाग्दै गर्दा उनीहरुलार्इ प्रहरीले पक्राउ गरेकाे थियाे । पक्राउ परेका मध्ये जसविर सिंहकाे साथमा पञ्जाव प्रहरी हवल्दारकाे परिचय पत्र फेला परेकाे हाे ।

उनीहरुलार्इ अाधुनिक अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित प्रहरीले पक्राउ गरेकाे थियाे । पक्राउ परेका जसविर सिंह र शरदेबेन्द्र सिंहलार्इ प्रहरीले अनुसन्धान गरिरहेकाे छ । जसविर सिंहकाे साथमा प्रहरी हवल्दारकाे परिचय पत्र र अर्का सुटर शरदेबेन्द्रकाे साथमा भारतीय विद्युत् प्राधिकरणको कर्मचारीको परिचयपत्र फेला परेको प्रहरीले जनाएकाे छ।

अनुसन्धानमा संलग्न प्रहरीले शरदेवेन्द्रका बारेमा भारतीय समकक्षीसँग सम्पर्क गर्दा उनी इलेक्ट्रिसिटी बोर्डको प्राविधिक पदमा कार्यरत कर्मचारी रहेको र अहिले छुट्टीमा रहेको खुलेको छ। जसवीरको साथबाट पन्जबव प्रहरीमा हबलदार पदमा कार्यरत परिचयपत्र फेला परेको छ । परिचयपत्रमा नाम उपदेश सिंह छ भने तस्बिर अर्कैको छ।

बयानमा उनले सो परिचयपत्र आफ्नो साथीको रहेको र कहींकतै हिँड्दा उनको परिचयपत्र बोक्ने गरेको दाबी गरेपछि नेपाल प्रहरीका अधिकारीले पन्जाब प्रहरीसँग विवरण मागेको छ।पक्राउ गरेका दुवैलाई आतंकवाद र अन्तरदेशीय अपराध अनुसन्धान गर्ने प्रहरीको विशेष ब्युरोले कानुनी प्रक्रियाका लागि बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ।

‘शरदेवेन्द्र भारतको सरकारी कर्मचारी भएको पुष्टि भयो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘जसवीरले गोलमटोल बयान दिइरहेका छन् । उनको साथबाट अन्यकै नाम र तस्बिर भएको परिचयपत्र फेला परेकाले त्यसको भेरिफाइको प्रयासमा छौं ।’

अनुसन्धानमा संलग्न स्रोतका अनुसार दुवैले आफूहरु नेपाल घुम्न आएको र सुरक्षाका लागि हतियार बोकेको बयान दिएका छन् । उनीहरु बुटवलको एक ट्राभल्स एजेन्सीमार्फत २ दिन कोठा बुक गराएर मंगलबार बेलुका काठमाडौं आएको पाइएको छ । तर उनीहरू कहाँकहाँ घुम्ने योजनासहित आएका हुन् भन्ने खुलेको छैन।

अनुसन्धानका क्रममा प्रहरीले उनीहरु बस्ने होटलमा भएको आवतजावतबारे क्लोज सर्किट टेलिभिजनका दृश्य संकलन गरेको छ । उनीहरूसँग कुनै शंकास्पद व्यक्तिले भेटघाट गरेको देखिएको छैन। प्रारम्भिक अनुसन्धानमा बरामद भएको पेस्तोल र गोली जसवीरको भएको खुलेको छ । उनले सो पेस्तोल आफूले भारत सरकारसँग अनुमति लिएर लिएको दाबी गरेका छन्।

प्रहरीले जसवीरलाई केन्द्रित गरेर अनुसन्धान गरिरहेको छ । उनीबाट बरामद पेस्तोल भारत सरकारको रक्षा मन्त्रालयअन्तर्गतको राइफल फ्याक्ट्री इसापुरमा उत्पादित रहेको पुष्टि भएको छ। स्रोतका अनुसार जसवीरले पन्जाबमा सुरक्षा खतरा बढेपछि हतियार लिएको र नेपालमा हतियार लिएर आउन नपाउने जानकारी नभएको दाबी गरे पनि अनुसन्धान अधिकारीले पत्याएका छैनन्।

‘शरदेवेन्द्रको व्यवहार त्यति शंकास्पद देखिएको छैन । तर जसवीरले अनुसन्धानकर्तालाई भ्रममा राख्ने प्रयास गरेका छन्,’ अनुसन्धानमा संलग्न अधिकारीले भने। उनीहरुले ४ वटा म्यागजिनसहितको पेस्तोल र ५१ राउन्ड गोली बोकेर नेपाल आउनुको कारण खुलाउन सकेका छैनन् ।

स्रोतका अनुसार युनुस अन्सारीको हत्या प्रयासको घटनामा २०६७ मा पन्जाबका मनमितसिंह भाटिया पक्राउ परेका थिए । अन्य केही फरार छन् । फरारमध्ये एकको हुलिया जसवीरसँग मिल्छ । ब्युरोले मुद्दा प्रक्रियाका लागि दुवै भारतीयलाई परिसरको जिम्मा लगाए पनि अनुसन्धानको नेतृत्व उसैले गरिरहेको छ।

भारतबाट आफ्नै गाडी लिएर आएको, रेस्टुरेन्टमा गएर सामान्य विषयमा विवाद गरेको जस्ता घटनाक्रम गम्भीर प्रकृतिको आपराधिक योजनासहित आउने टोलीका सदस्यले अपनाउने शैलीभन्दा भिन्न हो । उनीहरु घुम्न मात्र आएको भन्ने दाबी हतियारको संख्या र प्रकृतिले पुष्टि हुँदैन। ‘भारतीय सुटर संलग्न रहेका पुराना घटनाका फरारसँग जोडेर समेत अनुसन्धान भइरहेको छ,’ स्रोतले भन्यो, ‘अन्य मिसनमा समेत आएका हुन सक्छन्, तर अहिले खुल्न सकेको छैन ।’

पक्राउ परेका दुवै भारतीय नागरिकलाई काठमाडौं परिसरले ज्यान मार्ने प्रयासको अभियोगमा काठमाडौं जिल्ला अदालतमा पेस गरेर अनुसन्धानका लागि सात दिनको म्याद लिएको छ।उनीहरुमाथि अवैध हतियारको समेत अभियोग लाग्छ । रेस्टुरेन्टमा गोली चलाएकाले प्रारम्भमा हत्या प्रयासको अभियोगमा अनुमति लिएर हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको परिसरका एसपी रामदत्त जोशीले जानकारी दिए।

Loading...