इन्धन बोकेको ट्यांकरमा बम आक्रमणगरी १५ को हत्या

एजेन्सी । तेल अफगानिस्तानको चारिकार नगरमा इन्धन बोकेर गुडिरहेको एक ट्यांकरमा बम हमला हुँदा कम्तीमा पनि १५ जनाको हत्या भएको छ ।

ट्यांकरमा अज्ञात समूहले बम हमला गरेको अफगान प्रहरीले जनाएको छ । बम आक्रमणपछि ट्यांकर विस्फोट भएको र त्यसका कारण भएको आगलागीमा परी वरपर रहेका नागरिक जलेर मरेका थिए ।

उक्त तेल ट्यांकरमाथि पूर्वी अफगान नगर पारवानमा बुधबार राति हमला भएको हो । राति सो ट्यांकरमा बम लागेपछि विस्फोट भएको र विस्फोटका कारण आगलागी भएको हो ।

तेलको ट्यांकरमा आगलागी भएपछि नजिकैको बस्ती तथा सडकमा गुडिरहेको अर्काे बसमा पनि आगो लागेको थियो । त्यस बसमा रहेका नागरिक आगो लागेर जलेका थिए ।

मारिनेमा साथमा रहेको अर्काे बसका यात्रुका साथै उक्त घटनास्थल वरपरका बासिन्दा परेको जानकारी अफगानिस्तानका स्थानीय सञ्चारले दिएका छन् ।

यसरी तेल ट्यांकरमा बम हमला गरी हत्या गर्ने घटना यसअघि पनि अफगानिस्तानमा हुने गरेका छन् । इन्धन बोकेको ट्यांकरमा गरिने हमलाबाट त्यसको वरपरका नागरिक शिकार हुने गरेका छन् ।

Loading...