सरकारी अधिकृतको उच्च शिक्षाका लागि जापानले नेपाललार्इ दियाे २ अर्ब ५७ करोड

काठमाडौं । जापानले सरकारी अधिकृतहरुलाई उच्च शिक्षाका लागि २ अरव ५७ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

जापानको नेपालको मानव संशाधन विकास अन्तरगत सरकारी कार्यालयको क्षमता विकास गर्ने उद्देश्यका साथ सरकारी अधिकृतहरुको उच्च शिक्षाका लागि २ अरव ५७ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको हो ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच अर्थ सचिव शान्तराज सुुवेदी र नेपालका लागि जापानीज राजदुत मासाशी ओगावाबीच मानव संशाधन विकाससम्बन्धि आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रमा वार्षिक २० जना नेपालका सरकारी अधिकृतहरुलाई जापानले उच्च शिक्षाका लागि आर्थिक सहयोग उपलब्ध गराउने उल्लेख गरिएको छ । कर्मचारी भित्रैबाट प्रतिस्पर्धा गरेर उच्च शिक्षा हासिल गर्न जाने कर्मचारीहरुको छनौट गर्ने अधिकार भने नेपाल सरकारलाई नै दिइएको छ ।

जापानले नेपालका कर्मचारीहरुलाई दक्ष बनाउने उद्देश्यका साथ उच्च शिक्षाका लागि आवश्यक आर्थिक सहायता उपलब्ध गराउने भएको हो । जापानले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।

Loading...