वनका अध्यक्ष नै अवैध रुपमा वन फडानीमा सक्रीय

प्यूठान, १२ कार्तिक । वनकाे रक्षाका लागि वन समिति बनाइन्छ । तर, त्याे दुधकाे साक्षी बिरालाे भन्ने नेपाली उखान जस्ताे भयाे भने के हाेला ? यस्तै भएकाे छ प्यूठानमा । एक सामुदायिक वनका अध्यक्ष नै वन फडानीमा व्यापक रुपमा लागिपरेका छन् । वनका अध्यक्ष नै यसरी तस्करहरुसँग मिलेर वन फडानीमा लागेपछि त्यस क्षेत्रका स्थानीयवासी अाक्राेशित भएका छन् ।

प्यूठानकाे माण्डवी गाउँपालिका १ तिरामको त्रिवेणी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष उमाकान्त अधिकारी यसरी वन फडानीमा लागेका हुन् । उनले सामुदायिक वनका केही रुखहरु काट्ने अाफ्नाे अधिकार भएकाे बताउने गरेकाे बुझिएकाे छ । तर, त्यसविषयमा वन समितिकै अन्य कुनै पनि पदाधिकारीलार्इ उनले थाहा दिएका छैनन । उनले सामुदायिक वनमा समितिका अन्य पदाधिकारीलाई थाहै नदिई सालका रुखहरु काटेकाे स्थानिय उपभोक्ता असोक विटालु बताउँछन् ।

साेही वन उपभाेक्ता समितिका उपाध्यक्ष ऋषि अधिकारी भन्छन्, ‘रुख काटनेवारे कुनै निर्णय नगरिएको छैन तर, व्यापक रुपमा वन फडानी भइरहेकाे छ ।’ उनले यस्ताे कार्य राेक्न सबैले साथ दिनुपर्ने बताएका छन् ।

त्यसैगरी वन उपभाेक्ता समितिका कोषाध्यक्ष वलराम सुवेदीले केही ढलेका रुख, बाटोमा परेका केही रुख हटाउनुपर्ने र अन्यन्तै पुराना रुख कार्तिक महिनामा निवेदन माग गरेर मंसिरमा दिने निर्णय भएको जानकारी दिए । तर, त्यसकाे नाममा भकाभक वन फडानी भएकाे भन्दै उनले अापत्ती जनाए । त्यस्ता रुखहरु पनि मङ्सिरमा काट्ने निर्णय भएकाे भए पनि कार्तिक महिनामै कसैलार्इ जानकारी नदिएर नयाँ नयाँ रुखहरु समेत फडानी भइरहेकाे उनले बताए ।

“तपाईको वनमा त रुखहरु काटेर मुढा तेर्स्याइएका छन् त ! तपाईले काटन सुरु भएको छैन पुराना ढलेका निकाल्ने निर्णय मात्र भएको भन्नुहुन्छ । यसवारे जानकारी छैन?” भन्ने प्रश्नमा कोषाध्यक्ष सुवेदीले भने–“सग्ला रुखहरु काटने त निर्णय नै छैन। ढलेका र धोल्दा परेका रुख काट्न दिने भन्ने निर्णय हो त्यो पनि आजकल होईन। वन समितिको निर्णय विना नै यसरी रातारात काठ काटनु त तस्करी नै भयो नि !

रातारात सालका काठहरु फडानी गरिएको उपभोक्ताको भनाई छ। जंगलमा सालका रुखहरु मुढा बनाएर तेर्स्याइएका छन्। उपभोत्ता समितिको निर्णय, वनको कार्ययोजना र जिल्लावनको अनुमपति विनै सामुदायिक वनमा सालका रुखहरु ढालिएकोप्रति उपभोक्ता र स्थानियवासी आक्रोशित छन्।

सामुदायिक वनमा रुख कटानी गर्दा उपभोक्ता समितिले निर्णय गर्नुपर्छ। तर, त्रिवेणी सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष सचिव र कोषाध्यक्षलाई जानकारी विनै सालका रुखहरु काटिएका छन्। धमाधम वन फडानी भइरहेका बेला त्रिवेणी सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष ऋषि अधिकारीले कुनै पनि आधिकारीक निर्णय नभइकनै काठ फडानी गरिएको जानकारी दिए ।

‘सालका रुख काट्ने वा नकाट्ने निर्णय छैन् ’ उपाध्यक्ष अधिकारीले भने, ‘वन समितिको निर्णय विना यसरी रुखहरु ढाल्नु राम्रो होईन। यदि उपाध्यक्ष विना कुनै निर्णय भएको छ भने मलाई जानकारी छैन।’

त्रिवेणी सामुदायिक वनका उपभोक्ता समितिका अध्यक्ष उमाकान्त अधिकारीले भने सामुदायिक वनको निर्णय वमोजिम नै काठहरु काटिएको दावी गरे। “उपभोत्तालाई आवश्यक परेका काट्ने भन्ने निर्णय भएको छ । त्यसैले दुई जना उपभोक्तालाई आवश्यक परेकाले रुखहरु काटिएको हो ।” अध्यक्ष अधिकारीले भने “उपभोक्ता समितिले विगतमा निर्णय गरिसकेको कुरा होे। त्यसैले उपभोक्ताकै हितमा काटिएको हो।”

उता जिल्ला वन कार्यालयका रेन्जर हरी पौडेलले सालका रुख काट्नका लागि जिल्ला वनले अनुमति नदिएको बताउँछन्। सामुदायिक वनबाट सालका रुख काट्न उपभोक्ता समितिको निर्णय, कार्यविधि र वन कार्यालयको अनुमति आवश्यक हुने उनले बताए । तर, वन कार्यालयमा त्यसबारे कुनै पनि कुरा जानकारी नै नगरिएकाले त्याे कार्य पूर्णत: अवैध भएकाे उनकाे भनाइ छ । सामुदायिक वनको निर्णयविना उपभोक्ताका लागि पनि सामुदायिक वनको कुनै चिज वेच्न नपाईने पौडेलले बताए । निर्णय विना सामुदायिक वनमा लापरवाही गरेको भए जो कोहीलाई पनि कानुन वमोजिम कारवाही हुने उनले जानकारी दिए ।

Loading...