सरकारी लापरवाहीले यसरी सस्ताेमा बेचिदैछ तरार्इमा धान

काठमाडाैं, ११ कार्तिक । सरकारी निकायले समयमै मूल्य निर्धारण नगर्दा कैलालीका किसानले सस्तो मूल्यमा धान बेच्नुपरेको छ । जिल्लामा अधिकांश किसानले धान भित्राइसके पनि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मूल्य निर्धारण समितिले धानको समर्थ मूल्य अझै तोकेको छैन ।

सोहीकारण व्यापारीको मनपरी हुँदा गतवर्षभन्दा कम मूल्यमा धान बिक्री गर्नुपरेको स्थानीय कृषकको गुनासो छ । सामान्यता अघिल्लो वर्षको मूल्य र चलेको बजार मूल्य हेरेर समितिले मूल्य तोकेपछि नेपाल खाद्य संस्थानले सोही मूल्यमा धान खरिद गर्ने गर्छ । ‘धानको मूल्य निर्धारणमा ढिलाइ हुँदा व्यापारीले आफूखुसी मूल्य तोकेर धान किनिरहेका छन् ।’ कैलारी गाउँपालिकाका किसान रामप्रसाद चौधरीले भने, ‘लागत मूल्य पनि नउठ्ने गरी धान बेच्नुपरेको छ ।’ सरकारले किसानको समस्या नबुझ्दा व्यापारीको मनपरी भएको र फरक–फरक मूल्यमा किसानबाट धान खरिद गरिरहेका उनले बताए । धेरैजसो किसानले धान बेचेरै हिउँदे बाली लगाउनका लागि बिउ, मल, सिँचाइ तथा खनजोत गर्ने गर्छन् ।

हरेक वर्ष ढिलो गरी मूल्य निर्धारण हुँदा किसानले व्यापारीले भनेकै मूल्यमा धान बेच्नुपर्ने बाध्यता छ । व्यापारीले किसानबाट धान खरिद गरिसकेपछि मूल्य निर्धारण समितिले बढाएर धानको मूल्य निर्धारण गर्ने गर्छ । जसले गर्दा किसानलाई भन्दा व्यापारीलाई बढी फाइदा हुन्छ ।

अहिले ग्रामीण क्षेत्रमा मोटा धान प्रतिक्विन्टल १ हजार ७ सय ५० र मसिनो धान १ हजार ७ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गतवर्ष मोटो धान प्रतिक्विन्टल १ हजार ९ सयभन्दा बढी मूल्यमा बिक्री भएको थियो ।

‘गहुँको बिउ, मलखाद किन्ने र खेत जोत्ने आवश्यक खर्च जुटाउन धान बेच्नुको अर्को विकल्प छैन । भण्डारण गरेर राख्ने ठाउँ पनि छैन ।’ उदासीपुरका किसान गंगाराम चौधरीले भने, ‘किसानको बाध्यताको फाइदा व्यापारीले उठाइरहेका छन् ।’ लागत पनि मुस्किलले उठ्ने गरी किसानले बेचेको धानबाट व्यापारीले भने केही सातामै प्रतिक्विन्टल ४-५ सय रुपैयाँसम्म फाइदा लिने गरेका उनले बताए ।

धानको मूल्य चाँडै निर्धारण भए प्रतिस्पर्धा भई आफूहरूले राम्रो मूल्य पाउने किसानको भनाइ छ । तर, कैलालीमा धानको मूल्य निर्धारण गर्न अझै एक हप्ता लाग्ने बताइएको छ । मूल्य निर्धारण समितिको सदस्य सचिव रहने नेपाल खाद्य संस्थान अञ्चल कार्यालय धनगढीले बजार मूल्य बुझ्ने काम भइरहेकाले मूल्य निर्धारण गर्न एक हप्ता लाग्ने जनाएको छ । संस्थानका निमित्त प्रमुख गंगादत्त पन्तले धानको प्रचलित मूल्य, गतवर्षको मूल्य, किसानको लागत हेरेर मूल्य निर्धारण गरिने बताए ।

मूल्य निर्धारण समितिका संयोजक एवं कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले मूल्य निर्धारणको तयारी भइरहेको र मूल्य निर्धारणसँगै खाद्य संस्थानले सोही मूल्यमा धान खरिद गर्ने बताए । खाद्य संस्थान धनगढीले यस वर्ष जिल्लामा ४५ हजार क्विन्टल धान खरिद गर्ने जनाएको छ ।

Loading...