राष्ट्रस‌ंघ दिवसमा ललिपुरमा ज्यापु म्यूजियम फिस्टा सुरु हुने

ज्यापु समुदायका प्राचीन जीवनशैली, संस्कृति र परिकारकाे अवलाेकन तथा स्वाद लिन पाइने

ललितपुर, ६ कार्तिक । ललितपुरलाई सांस्कृतिक पर्यटकीय गन्तव्यका रुपमा अझै विकास गर्न ज्यापू समाजले तीन दिने महोत्सव गर्ने भएको छ । ज्यापु म्यूजियम फेस्टा नाम दिइएको उक्त महोत्सव यही कार्तिक ७ गतेदेखि सुरु भएर ९ गतेसम्म हुने भएको छ ।

ज्यापु समाज ललितपुरले आइतबार ज्यापु प्रज्ञा भवनमा पत्रकार सम्मेलनको आयोजना गरी यसको जानकारी दिएको हो । ललितपुरको च्यासलमा रहेको ज्यापु प्रज्ञा भवनमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवमा समावेश गरिने विभिन्न कार्यक्रम र त्यसका विशेषताबारे जानकारी दिइएको छ । ज्यापु समाजले दिएको जानकारी अनुसार यो महोत्सव ललितपुरका १० वटा टोलमा हुने छ । त्यसका लागि सबै तयारी पूरा भइसकेको ज्यापु समाजले जनाएको छ । यस महोत्सवमा ज्यापुहरुका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक कथा, संस्कृति र परिकारहरुको विशेष महत्व दिइएको बताइएको छ ।

करिव ३ लाख आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मेला अवलोकन गराउने उद्देश्य राखिएको यस महोत्सवमा नेवार ज्यापु समुदायका परापूर्वकालदेखिका विभिन्न स्थानीय परिकारको स्वाद लिन पाउने बताइएको छ । साथै यसमा लोप भइसकेका विभिन्न कला तथा सिपहरुको प्रत्यक्ष अनुभूत गराउने गरी प्रदर्शन गर्ने तयारी पनि गरिएको छ ।

ज्यापु समाजका सचिव सन्तमान महर्जनले महोत्सवमा सहभागी हुन आउनेहरुले करिव ३५० वर्ष पुरानो झ्यालेचा कलाको अवलोकन गर्न पाउने बताए । त्यसैगरी लोप भइसकेको संस्कृतिहरुको अवलोकनका साथै ज्यापुहरुको जीवनशैलीलाई हेर्न पाउने व्यवस्था मिलाइएको बताए । उनले महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको जानकारी दिए ।

वाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्र संघ दिवसका दिन महोत्सवको उद्घाटन लागिएको ज्यापु समाजले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने यो महोत्सवमा संयुक्त राष्ट्र संघका नेपाल प्रतिनिधि पनि सहभागी हुने बताइएको छ । विकासका लागि दिगो पर्यटन भन्ने नारा दिइएको यस महोत्सवमा ज्यापु सङ्ग्राहलयको निःशुल्क अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ ।

ललितपुरका ४० वटा टोलमा करिव ४० हजार आदिवासी ज्यापु समुदायको बसोवास रहेको छ । त्यसमध्ये १० वटा टोलमा यो महोत्सवका विभिन्न कार्यक्रमहरु राखिएको छ । ज्यापु समाजले दिएको जानकारी अनुसार बल्खु टोलमा एकल घोडे जात्राको अवलोकन गराइनेछ । त्यस्तै भिन्द्योलाछी टोलमा जीवन्त संस्कृतिको अवलोकन, क्वय्लाछी च्यासलमा ३५० वर्ष पुरानो झ्यालेचा कलाको प्रदर्शन र झण्डै २ हजार वर्ष पुरानो गजलक्ष्मीको अवलोकन गराइने छ । त्यस्तै च्यासल टोलमा टेपे महारानी र नेवाः भोजको व्यवस्था गरिएको छ भने खपिन्छें टोलमा आकाश भैरव, चोछें टोलमा माटाको चैत्य र मंका भजन, भेलाछे टोलमा अवालेहरुको मौलिक कार्यको जीवन्त प्रदर्शन, गःछें टोलमा विभिन्न नेवारी भोजका परिकारहरुको व्यवस्था, च्वबुगाहिटी टोलमा सांस्कृतिक गतिविधि झल्काउने डकुमेन्ट्री प्रदर्शन र मंकाहरी भजन तथा लोंल टोलमा माटोबाट बनाइएका हस्तकला प्रदर्शनी गरिने बताइएको छ ।

Loading...