सत्ताधारी दल दुई तिहाइ बढी मतले विजयी

एजेन्सी । भेनेजुयलाको सत्ताधारी युनाइटेड समाजवादी पार्टी (पीएसयूभी) ले २३ वटा क्षेत्रीय गभर्नरका लागि भएको निर्वाचनमा दुईतिहाईभन्दा बढी सदस्य जिताउन सफल देखिएको सोमबार जनाइएको छ ।

राष्ट्रिय निर्वाचन आयोगले दिएको जानकारी अनुसार क्षेत्रीय गभर्नरका लागि जम्मा २३ स्थानका लागि भएको निर्वाचनमा १७ स्थानमा सत्ताधारी समाजवादी पार्टीले विजय हासिल गरेको छ भने बाँकी पाँच स्थान प्रतिपक्षी प्रजातान्त्रिक एकता गठबन्धनले प्राप्त गरेको छ ।

निर्वाचन आयोग प्रमुख तिविसे लुसेनाले निर्वाचनमा जम्मा ६१.१४ प्रतिशत मतदाताको उपस्थिति रहेको बताए । उनले मतदानबाट सत्ताधारी समाजवादी पार्टीले १७ गभर्नर जित्न सफल भएको र बाँकी पाँच गभर्नर विपक्षी गठबन्धनलाई मिलेको पुष्टि गरे ।

निर्वाचन आयोगका प्रमुख लुसेनाले मुलुकमा देखिएको वैचारिक भिन्नतालाई निर्वाचनबाट आएका प्रतिनिधिले समाधान गर्दै जानेमा विश्वास व्यक्त गरे । आगामी दिनमा मुलुकमा देखिएका मतभिन्नतालाई सामूहिक प्रयत्नमा समाधान गर्न निर्वाचित प्रतिनिधिको पहल रहने उनको भनाइ थियो ।

Loading...