१० बर्षमा फर्कियो खोला, गच्छदार फर्किए पुरानै घर

काठमाडौं । नेपाली काँग्रेसबाट अलग भएर मधेस केन्द्रित राजनीति गरेका नेता विजयकुमार गच्छेदार पुरानै घर फर्केका छन् । काँग्रेसका तत्कालिन नेता विजयकुमार गच्छेदारको नेतृत्वमा गठन भएको नेपाल लोकतान्त्रिक फोरम १० बर्षपछि पुन नेपाली काँग्रेसमै विलय भएको छ ।

 

सोमबार बालुवाटारमा आयोजित एकता कार्यक्रममा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा लगायत शिर्षस्थ नेताहरुले गच्छेदारको नेतृत्वमा आएका फोरमका नेताहरुलाई नेपाली काँग्रेसमा भित्राएका हुन । पार्टी एकिकरण पछि आफ्नो मन्तव्य राख्दै गच्छेदारले १० बर्षपछि पितातुल्य नेता तत्कालिन काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला र आमातुल्य नोना कोइरालाको याद आएको भन्दै पार्टी छोड्नु परेको कारण बताउदै गर्दा उनको गला अबरुद्ध भएको थियो । एकीकरण कार्यक्रममा निकै भावुकरुपमा प्रस्तुत भएका गच्छदार आफ्नो आँखाबाट आँशु रोक्न प्रयास गरिरहेका थिए जसले गर्दा पुरै माहोल भावुक बनेको थियो ।

 

पार्टी एकीकरण पछि प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाले गच्छदारको पार्टी प्रवेशसँगै काँग्रेस एक नम्बरको पार्टी बन्ने बताए । उनले गच्छदारलाई मधेसबादी दलमा हुदापनि सधैं काँग्रेस नेताकै रुपमा आफूले पाएको स्मरण गर्दै गच्छदार नेतृत्वको पार्टीसँग एकीकरण गर्न पाउदा आफूलाई निकै खुसी लागेको प्रतिकृया दिएका छन् ।

 

पार्टी एकिकरणको दस्तावेजमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । देशमा अधिनायकवादको खतरा समेत रहेका अवस्थामा वलियो लोकतान्त्रिक शक्ति बनाउने उद्धेश्यका साथ पार्टी एकिकरण गरिएको दस्तावेजमा उल्लेख छ ।

 

पार्टी एकताप्रति लोकतान्त्रिक फोरमका नेता योगेन चौधरी सहितका केहि नेताहरु भने असन्तुष्ट भएको छन् । उनीहरुले यसलाई पार्टी एकता नभएर ब्यक्ति एकता भएको भनेका छन् । ”यो पार्टी एकता होईन । नेपाली काँग्रेसका पुराना नेता पुरानै घर फर्केका मात्र हुन् ।” असन्तुष्ट एक नेताले भने ।

Loading...