सफारी होटलमा खतरानाक विष्फोट, ८५ जनाको मृत्यु

एजेन्सी । सोमालियाको राजधानीमा रहेको मोगादिसु सफारी होटेलमा शनिबार भएको विस्पोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ८५ पुगेको यहाँका स्वास्थ्य अधिकारीले आइतबार जानकारी गराएका छन् ।

अमिन एम्बुलेन्स सेवाका निर्देशक अव्दुलकदिर अव्दिरअहमान अदेमले सिन्ह्वा न्यूज एजेन्सीसँगको टेलिफोन कुराकानीमा विस्पोटका कारण अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ८५ पुगेको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै जानकारी गराए । घटनामा गम्भीर घाइतेको सङ्ख्या अझै धेरै रहेकाले मृतक सङ्ख्या अझै केही बढ्नसक्ने उनले बताए ।

विष्पोटमा करिब २५० जना घाइते भएका र उनीहरूलाई राजधानीकै विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । पछिल्ला केही महिना यता भएकामध्ये यो सबैभन्दा ठूलो आक्रमण भएको, अदेमले बताए ।

घटनापश्चात होटेलमा पुगेका प्रहरी अधिकारीले बताएका छन्, विस्पोटका कारण होटेलका कैयौँ ढोका, झ्याल नराम्ररी चर्केका छन् । घटनास्थल वरपरका बासिन्दाले बताए अनुसार विस्पोटको आवाज निकै टाढासम्म सुनिएको र भवनहरू थर्किएका थिए ।

सोमालियाली राष्ट्रपति मोहम्मद अव्दुल्लाही मोहमदले विस्पोटमा मृत्यु भएका व्यक्तिको सम्झनामा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् । एकै पटक ठूलो सङ्ख्यामा घाइतेको उपचार गर्नु परेकाले स्थानीय अस्पतालमा रगतको अभाव भएको श्वास्थ्य संस्थाले जनाएका छन् ।

विस्पोटको आइतबारसम्म कसैले पनि जिम्मा लिएको छैन ।

Loading...