बन्दुक छाडेर बङ्गुरपालनमा माओवादी नेता

पर्वत, २५ वैशाख । शिक्षकको स्थायी जागिर छाडेर सशस्त्र द्वन्द्वमा बन्दुक बोकेका माओवादीका एक जना जिल्ला नेता आजकल बन्दुक छाडेर बङ्गुरपालनमा लागेका छन् ।
पर्वतको सरौखोला गाविस घर भएका नेकपा–माओवादी पर्वतका पूर्व सेक्रेटरी जयनारायण तिवारी बन्दुक छाडेर व्यवसायिक बङ्गुरपालनमा लागेका हुन । जिल्ला पशुसेवा कार्यालय पर्वतको सहकारी बङ्गुरपालन कार्यक्रममार्फत नेता तिवारीको अगुवाइमा पैयुँखोला बङ्गुरपालन सहकारी संस्था लिमिटेड गठन गरी सरौखोलामा नै व्यावसायिक बङ्गुरपालन सुरु गरिएको छ ।
तिवारीको अगुवाइमा गाउँमा बङ्गुरपालनदेखि माछापालन र तरकारीखेती पनि सुरु गरिएको छ । “राजनीतिले सबै आवश्यकता पूरा गर्दैन, अब कृषि र आर्थिक क्रान्तिबाट सबैलाई सक्षम बनाउने अभियान हामीबाट सुरु गर्नुपर्छ”, उनले भने ।
सहकारीले बङ्गुरपालनबाट राम्रो आम्दानी गर्ने उद्देश्य लिएको तिवारी बताउँछन् । सहकारीले अहिलेसम्म बङ्गुरपालनका लागि भवन तयार गरी पानीको व्यवस्था गरेको छ भने बङ्गुरका बच्चा ल्याउने तयारी भइरहेको छ । सुरुमा २५ वटा बङ्गुर पालेर व्यवसाय सुरु गर्न लागेको तिवारीको भनाइ छ । पैयँुखोला सहकारीमा २५ जना सदस्य छन् । सदस्यमध्ये चार जनाले व्यावसायिक रूपमा नै बङ्गुरपालनमा काम गरिरहेका छन् ।
जिल्ला पशुसेवा कार्यालय पर्वतको सहयोगमा माझफाँट गाविसमा पनि धौलागिरि बङ्गुरपालन सहकारी संस्थामार्फत बङ्गुरपालन सुरु गरिएको छ । स्थानीय जागरुक युवाले यस वर्षदेखि बङ्गुरपालनको व्यावसायिक सुरुवात गरेको सचिव कृष्ण शर्माले बताए । जिल्ला पशुसेवा कार्यालय पर्वतले बङ्गुरपालनका लागि दुई वटा सहकारी छनोट गरी आर्थिक अनुदान र प्राविधिक सहयोग दिँदै आएको छ । पाठापाठी खरिद, विद्युत्, खानेपानी, दाना खरिद ढुवानीलगायतका काममा अनुदान दिइने वरिष्ठ पशुविकास अधिकृत अमृत मास्के बताउँछन ।

Loading...